‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित

तराई/मधेशमा बाक्लो हुस्सु/कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् ।

भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिबिलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले विशेषगरी तराई क्षेत्रका विमानस्थलमा अगामी केही दिन हुस्सु/कुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित निरन्तर हुनसक्ने उल्लेख गरे ।

भिजिबिलिटी कमजोर रहेकाले बिहानैदेखि तराई क्षेत्रका सबैजसो विमानस्थलमा उडान प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए । ‘तराईका विमानस्थलमा भिजिबिलिटी कम रहेकाले बिहानैदेखि उडान प्रभावित भएको छ । केही विमानस्थल १२ बजेपछि खुल्छन् कि भन्ने प्रतिक्षामा छौं । उडान प्रभावित हुँदा यात्रुलाई गन्तव्यमा पुग्न सास्ती भएको छ,’ उनले भने ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार बिहीवार भद्रपुर र पोखराबाहेक सबै विमानस्थलको उडान प्रभावित भएको छ । बिहानैदेखि उडान प्रभावित हुँदा यात्रुमर्कामा परेका छन् ।

आन्तरिकतर्फ दैनिक करीब ३०० उडान हुन्छन् । बुद्ध एयरको सबैभन्दा बढी दुईतर्फी करीब १५० उडान हुन्छ । यती एयरलाइन्सको दैनिक ५८ उडान हुने गरेको छ । आन्तरिक उडानमा श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, गुण एयरलाइन्सले पनि विभिन्न गन्तव्यमा उडान गर्छन् । आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान गर्दै आएका छन् ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेपनि तराई भूभागको केही स्थानमा हुस्सु/कुहिरो लाग्नुका साथै देशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

बिहीबार काठमाडौंको अधिकतम तापक्रम १९ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर