सरकार र विप्लव नेकपाबीच वार्ता, सहमति कार्यान्वयन गर्न सरकार सकारात्मक

सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच यसअघि दुई पक्षबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा वार्ता भएको छ।

गृह मन्त्रालयमा बिहीबार दिउँसो भएको वार्तामा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाण, निवर्तमान कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा, महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव विनोदप्रकाश सिंह सहभागी थिए भने नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए। वार्तामा नेकपासँग सम्बन्धित मुद्दा चाँडो टुंग्याउन अहिलेसम्म भएका प्रगतिबारे कुराकानी भएको थियो।

नेकपासँगका मुद्दा टुंग्याउन गत भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह प्रशासनमै रहेका मुद्दा प्रशासनिक प्रक्रिया र राजनीतिक तवरबाट टुंग्याउने र अदालती प्रक्रियामा पुगेका मुद्दालाई टुंग्याउन वर्तमान कानूनले अफ्ठेरो पर्ने भएमा संशोधन गरेर भए पनि टुंग्याउने निर्णय गरेको थियो। त्यही निर्णय कति कार्यान्वयन भयो ? र, आगामी दिनमा तत्काल कार्यान्वयन गर्नसक्ने अवस्था छ कि छैन भन्नेबारेमा नेकपा प्रवक्ता विश्वकर्माले जिज्ञासा राखेका थिए।

जवाफमा सरकारका तर्फबाट निर्णय कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको धारणा आएको थियो।

सरकारका तर्फबाट गृहमन्त्री खाणले नेकपाका नेताहरूसँग भएको सहमतिका आधारमा सरकारले गरेको निर्णय कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए।

‘सरकारको निर्णय कार्यान्वयन गर्न प्रतिबद्ध छौँ,’ गृहमन्त्री खाणले भने, ‘केही प्रशासनिक तवरबाट हुने निर्णय भइसकेका छन्। अदालती प्रक्रियामा गएका मुद्दाहरूबारे पनि प्रक्रिया अगाडि बढिसकेको छ। निर्णयअनुसार कार्यान्वयन हुन्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर