कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैन : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन्।

बिहीवार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको शालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका उपसभापति खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका हुन्।

उनले पार्टी सभापति देउवाको नेतृत्वमा कांग्रेस र सिंगो गठबन्धन नै निर्वाचनमा होमिएको भन्दै देउवाले दलको नेतामा चाहना राखेपछि दायाँबायाँ कुरा गरिराख्नु नपर्ने बताए। उनले दलको नेताको निर्वाचन सर्वसम्मत रुपमा गर्नुपर्ने पनि बताए।

उपसभापति खड्काले यो बेलामा कांग्रेसभित्र एकताको वातावरण बनाउन आवश्यक रहेको बताए। कांग्रेसलाई एकतावद्ध बनाउँदै सत्ता गठबन्धनसहितका दलहरुलाई मिलाएर लानुपर्ने कांग्रेसको मुख्य दायित्व भएको उल्लेख गरे।

उपसभापति खड्काले संसदीय दलको नेतामा अन्य नेताहरुको आकांक्षालाई अन्यथा मान्नु नहुने टिप्पणी गरे। व्यक्तिहरुको आकांक्षाकै बीचमा सर्वसहमतिको वातावरण बनाउने उनको भनाइ छ । उनलेसबैको महत्त्वाकांक्षाहरुलाई त्यागेर सबैको सम्मान र भूमिका रहनेगरी अगाडि बढ्नुपर्नेमा जोड दिए।

उनले सत्ता गठबन्धनकै सरकार बनाउने बताए। वर्तमान गठबन्धनमा आवद्ध दलहरुको साथै अन्य दलहरुलाई पनि जोडेर गठबन्धन दलकै नेतृत्वमा सरकार बनाउने उनले बताए। त्यसका निम्ति कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य दलका नेताहरुसँग संवाद अगाडि बढाएको उनले बताए।सहमतिमै सरकारको नेतृत्वको चयन हुने उनले स्पष्ट पारे।

उनले कानून निर्माणको कामलाई तिब्र बनाउन र संसदलाई प्रभावकारी बनाउनका लागि नेपाली काँग्रेस र सत्तारुढ गठबन्धन प्रतिवद्ध रहेको बताए।

उपसभापति खड्काले बाँडेगाउँमा पुगेर नेपाली काँग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराईको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे। उनले भट्टराई आफ्नो दर्शन गुरु र राजनीतिक गुरु भएको उल्लेख गर्दै आफूले कुनै पनि अभियान शुरु गर्नुपूर्व र परिणाम आएपछि भट्टराईको आश्रममा आएर आशीर्वाद लिने गरेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *