चुनावमा यी सवारी साधनलाई पास नचाहिने

निर्वाचन आयोगले चुनावका दिन अत्यावश्यकीय सेवा प्रवाहमा सञ्चालित सवारीहरूका लागि पासको आवश्यकता नपर्ने जनाएको छ।

आयोगले बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, अस्पतालमा कार्यरत परिचयपत्र बोकेको चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि पासको अनुमति लिनु नपर्ने बताएको हो।

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधनका लागि पास लिनु नपर्ने बताएका हुन्। उनले निर्वाचन आयोगबाट जारी परिचयपत्रवाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताको सवारी साधनले पनि अनुमति लिन नपर्ने बताए।

सचिव दुवाडीका अनुसार फोहोर मैला ओसारपसार गर्ने सवारी साधन, विदेशी पर्यटकमात्र बोकेको हरियो नम्बर प्लेटको सवारी साधन, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन, कूटनीतिक नियोग, यूएन एजेन्सी, दुईपक्षीय, बहुपक्षीय साझेदार संस्थाहरूमा कार्यरत कर्मचारीहरूले प्रयोग गर्ने सवारी साधनलाई पनि अनुमति आवश्यक छैन।

सचिव दुवाडीले सूचना तथा प्रसारण विभाग, प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण अथवा त्यस्तै प्रकृतिको नियामक निकायले जारी गरेको प्रेस पास, प्रचलित कानूनबमोजिम दर्ता भई प्रेस काउन्सिलमा दर्ता भइ सूचीकृत भएका सञ्चार निकायहरूको परिचयपत्रको आधारमा समेत सवारी साधनको हकमा अनुमति लिनु नपर्ने व्यवस्था गरेको बताए।

आयोगले अशक्त व्यक्तिहरुको हकमासमेत मतदानलाई सहजीकरण गर्न वडा कार्यालयको सिफारिसमा सम्बन्धित निर्वाचन अधिकृतले अनुमतिपत्र दिने व्यवस्था गरेको छ। त्यस्तै पूर्ण अपाङ्गता भएका वा क वर्ग र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरूको हकमा पनि अवधि कायम रहेको परिचयपत्रको आधारमा सवारी साधन प्रयोग गर्दा अनुमति चाहिने छैन।

निर्वाचन आयोगले अन्यको हकमा भने सम्बन्धित निर्वाचन अधिकृतले आवश्यकताको आधारमा अनुमति दिने व्यवस्था गरेको छ। मानवीय उद्धार तथा सहायता एवं आपतकालीन अवस्थामा प्रयोग गर्ने सवारी साधनको हकमा सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारीले व्यवस्थापन गर्न सकिने आयोगले जनाएको छ।

निर्वाचन प्रतिनिधिहरूले सम्बन्धित निर्वाचन अधिकृतबाट तोकिएबमोजिमको मापदण्डको आधारमा अनुमतिपत्र प्राप्त गर्नेछन्। सचिव दुवाडीले व्यवस्थित रूपमा र नियन्त्रित रूपमा सवारी आवागमन गरी मतदानलाई, स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पादन गर्नेगरी आयोगले व्यवस्था गरेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर