मैले टक्कर दिएर सरकार ढालेपछि केपी ओली बहुलाएर हिँडेका छन् : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिएपछि बहुलाएर हिँडेको टिप्पणी गरेका छन्।
बिहीबार विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका नेता, कार्यकर्ताहरूलाई पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा स्वागत गदै उनले केपी ओलीको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले ओली बर्बराउँदै हिँडेको आरोप लगाएका हुन्।
उनले केपी ओलीलाई कसैले टक्कर दिन सक्दैन भन्ने सोचिरहेको बेलामा आफूले टक्कर दिएर सरकार ढालेको बताए। उनले सरकार ढलेपछि अहिले ओली उत्पट्याङ कुरा गरिरहेका भन्दै ओलीका उत्पट्याङ कुराहरूको संकलन गर्नुपर्ने बेला भएको बताए।
अध्यक्ष नेपालले भने, ‘केपी ओलीलाई कसैले ढाल्नै सक्दैन भन्ने लागेको थियो, ढाल्ने काम गर्याैं। टक्कर दिनै सक्दैन भन्ने लाग्यो, टक्कर दियौँ। टक्कर दिएपछि अहिले देखिरहनुभएको छ, केपी ओली बहुलाएको, बर्बराएको, के के उत्पट्याङ कुरा गरिरहेका छन्।’
अध्यक्ष नेपालले अध्यक्ष ओलीले झुटा आक्रोश र बदला पोखिरहेको बताए। उनले अरूलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति हाबी भएपछि आफूले विद्रोह गर्नुपरेको बताए। अध्यक्ष नेपालले नेकपा एमालेले अहिलेको निर्वाचनमा पैसाको खोलो बगाइरहेको आरोप लगाउँदै एमालेको आम्दानीको स्रोत भनेको भ्रष्टाचार र लुट रहेको बताए।
अध्यक्ष नेपालले आफ्नो पार्टीको सरकार बनेपछि वृद्धभत्ता ५ हजार पुर्याउने बताए। उनले आफ्नो सरकारले सुकुबासी समस्यालाई समाधान गर्दै गएको र ६० हजार परिवारलाई जग्गा बाँड्ने काम गरेको बताए। उनले यो काम नेपालको इतिहासमा नै अहिलेसम्म कसैले नगरेको दाबी गरे।
उनले पर्यटन क्षेत्रको खोजी गरी विकास गर्न आवश्यक रहेको बताए। अध्यक्ष नेपालले नेपालको आर्थिक स्तरोन्नतिका लागि विद्युत् र पर्यटन क्षेत्रको विस्तार गर्न जरुरी रहेको बताए।
उनले नेपालको राजनीतिमा कम्युनिष्ट पार्टीहरूका लागि छिन्नभिन्न हुने र जोडिने कुरा सामान्य भएको जिकिर गरे।
प्रतिक्रिया