संयमित भएर काम गर्न निर्वाचन आयोगलाई पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले संयमित भएर काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्।

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनका बेला निर्वाचन आयोगको सबैभन्दा ठूलो शक्ति नै संयमता भएकाले सोहीअनुसारको बोली, वचन र व्यवहार हुनुपर्ने बताएका हुन्।

निर्वाचन आयोगको सानो गल्तीले पनि आगोको झिल्को झैं सल्किने सक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने उनको भनाइ थियो। ललितपुरमा आयोजित ‘निर्वाचन आयोगको अभिभारा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो कारणले निर्वाचनको वातावरण भत्किन नपाओस् भनेर आयोगले गहिरोसँग विचार गर्नुपर्ने बताए।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले आयोगको ध्यानाकर्षण गराए। उनले शीर्ष नेताहरू उम्मेदवार भएको जिल्ला बढी संवेदनशील हुने गरेको उल्लेख गर्दै त्यसमा सुरक्षाको आवश्यक व्यवस्था मिलाउन ध्यान दिनुपर्ने स्मरण गराए। श्रेष्ठले मतदाता शिक्षाको कामलाई प्रभावकारी बनाउन पनि आयोगले ख्याल राख्ने विश्वास व्यक्त गरे।

पूर्वकार्यबहाक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले मतगणनामा गडबडी हुन नदिन निर्वाचन आयोग गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए। उनले सबै निर्वाचनहरूमा मतगणनाको विषय जटिल हुने उल्लेख गर्दै त्यसो हुन नदिन आयोगले बेलैमा योजना बनाउनुपर्ने बताए। निर्वाचनमा पठाइएको मतपत्रको अनुगमनको काममा पनि आयोग सचेत हुनुपर्ने गुरुङको भनाइ थियो।

गुरुङले निर्वाचन आयोगले निर्वाचनको ब्यालेट बक्सको सुरक्षामा पनि चनाखो हुनुपर्ने बताए। विगतमा ब्यालेट बोकेर आएको ट्रक नै बेपत्ता भएको घटनाको चर्चा गर्दै उनले त्यस्तो अवस्था आउन दिन नहुने पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *