
खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले गलत लिखत तयार गरेर सरकारी कागजात नोक्सान गरी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अध्यक्ष वर्कबहादुर रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उनीहरूविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए । गाउँपालिकाको वडा नम्बर ४ स्थित सिम्लका घट्ट सिँचाई कुलो निर्माणमा अघिल्लो वर्ष सम्पन्न भएको कामको आर्थिक वर्ष २०७७/०७८ मा कुनै पनि काम नगरी भुक्तानी लिएको भन्ने उजुरी आयोगमा परेको थियो ।
अनुसन्धानका क्रममा सिम्लका घट्ट सिँचाई योजना आव २०७६/०७७ मा सम्पन्न भइसकेको पाइएको थियो। तर, २०७७/०७८ को वार्षिक योजना किताबमा नभएको तथा योजनालाई उपभोक्ता समिति र गाउँपालिकाबीच सम्झौता, लागत अनुमान, मूल्याङ्कनसहितको झुट्टा कागजात तयार गरी भुक्तानीको सिफारिस गरिएको पाइएको आयोगले जनाएको छ । योजना नै नभएको अवस्थामा नापी किताब, सम्झौता, कार्य सम्पन्न प्रतिवेदन जस्ता कागजात गलत रूपमा तयार गरी १४ लाख ८ हजार ८१७ रुपैयाँ भुक्तानीका लागि चेकसमेत दिइएको प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष रोकाया, तत्कालीन वडा अध्यक्ष भीमबहादुर रोकाया, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, तत्कालीन इन्जिनियर सुरेन्द्रबहादुर खाती, तत्कालीन प्राविधिक असिस्टेन्ट इन्जिनियर जनक थापा मगर, तत्कालीन लेखापाल मदनराज जोशी र सिम्लका घट्ट सिँचाई कुलो योजनाको उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शमशेर रोकाया मुद्दामा प्रतिवादी बनाएको छ । उनीहरूविरुद्ध जनही १४ लाख ८ हजार ८१७ रुपैयाँ बिगो कायम गरेर आयोगले कैद र जरिवाना दुवै सजायको मागदाबी गरेको छ ।
- महामन्त्री शर्माको प्रश्न- राज्यसँग ४ हजार भीडको व्यवस्थापन गर्ने क्षमता पनि नभएको हो ?
- आकस्मिक घटनामा काम गर्न विशेष संरचना बनाउन आवश्यक : परराष्ट्रमन्त्री
- सहकारीहरुलाई भड्काएर फाइदा लिन खोज्ने तत्वका कारण ऐन संशोधन गर्यौँ : बलराम अधिकारी
- कुलमान र हितेन्द्रदेवको रिट आज पनि ‘हेर्दाहेर्दै’ मा राखियो
प्रतिक्रिया