
संसारकै खुशी देशको सूचीमा नेपाल ९२औं स्थानमा


संयुक्त राष्ट्रसंघले हरेक वर्ष जारी गर्ने ह्याप्पिनेस इन्डेक्स (खुसीमापक सूची) सन् २०२५ हालै जारी भएको छ। सो सूचीमा नेपाल ९२औं स्थानमा परेको छ।
अघिल्लो वर्ष (२०२४ मा) ९३औं स्थानमा रहेको नेपाल यो वर्ष यो एक तह माथि उक्लिएको छ। त्यसो त सन् २०२३ को खुसीमापक सूचीमा नेपाल ७८औं स्थानमा थियो। त्यस्तै यो सूचीमा नेपाल सन् २०२२ मा ८४औं, २०२१ मा ८७औं र २०२० मा ९२औं स्थानमा थियो।
खुसीमापक सूचीमा अघिल्ला सात वर्षजस्तै यस वर्ष पनि फिनल्यान्ड पहिलो स्थानमा परेको छ। डेनमार्क, आइसल्यान्ड, स्विडेन र नेदरल्यान्ड क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा परेका छन्। यो सूचीको ११औं नम्बरमा अस्ट्रेलिया, १२औंमा न्युजिल्यान्ड, २२औं नम्बरमा जर्मनी, २३औं नम्बरमा बेलायत, २४औं नम्बरमा अमेरिका र ६८औं नम्बरमा चीन छन्। भारत ११८औं नम्बरमा रहेको छ। त्यस्तै पाकिस्तान १०९औं, श्रीलंका १३३औं र बाङ्लादेश १३४औं नम्बरमा परेका छन्। खुसीमापक सूचीको सबैभन्दा पुछार अर्थात् १४७औं नम्बरमा अफगानिस्तान छ।
कुनै पनि देशका जनताको जीवनस्तर मापन गरी खुसी हेरिन्छ। यसका लागि देशको जिडिपी परक्यापिटा, सामाजिक सहयोग, जनताको स्वास्थ्य र स्वतन्त्रताको पनि मापन गरिन्छ। सर्वसाधारणमा अरूप्रति सहयोगी भावना कति छ र भ्रष्टाचारप्रति उनीहरूको दृष्टिकोण कस्तो छ भन्ने धारणालाई समेत मूल्यांकन गरी खुसीमापन सूची जारी गरिन्छ। नेपालको अवस्था सन् २०२३ मा ७८औं स्थानमा भए पनि २०२४ मा ९३औं स्थानमा झरेको देखिन्छ।
भुटानले जिडिपीको साटो ग्रस ह्यापिनेस इन्डेक्स प्रयोग गर्छ। त्यसैले भुटानले आफ्नो तथ्यांक संयुक्त राष्ट्रसंघलाई दिने गरेको छैन। देशमा रोजगारी तथा आर्थिक अवसर सिर्जना गरेमा, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ध्यान दिएमा, पारदर्शितालाई बढवा दिँदै भ्रष्टाचार नियन्त्रण गरेमा, सामाजिक सुरक्षाका लागि शिक्षा तथा सामाजिक सेवा बढाउन सकेमा नेपाल खुसीसूचीमा अगाडि आउन सक्ने विशेषकहरू बताउँछन्।
प्रतिक्रिया