चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै केएमसीमा धर्ना

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै विगत केही दिनदेखि काठमाडौं मेडिकल कलेज (केएमसी) विरुद्ध आन्दोलनमा उत्रिएका मृतकका परिवार र संघर्ष समितिले धर्ना दिएको छ ।

काठमाडौं महानगरपालिका–९ ओमनगर निवासी ४८ वर्षीय शैलेन्द्र विद्याधरको गत असोज ३० गते उपचारको क्रममा मृत्यु भएपछि मृतकका परिवार र आफन्त केएमसीविरुद्ध आन्दोलनमा उत्रिएका हुन् । मृतककी श्रीमती सुशीला विद्याधरसहित संघर्ष समितिको टोलीले शनिबार अस्पताल वरपर नाराबाजीसहित प्रदर्शमा उत्रिएको हो ।

सो क्रममा उनीहरूले ‘सरकार पीडितलाई न्याय देऊ’, ‘लाइसेन्स लिएर मान्छे मार्न पाइँदैन’, ‘केएमसी प्रशासन मुर्दावाद’, ‘हत्यारा डाक्टर मुर्दावाद’, लगायतका नारा लगाएका थिए । डाक्टरले ब्रेन ट्युमरको अप्रेसनका क्रममा टाउकोको नसा काटेका कारण बिरामीको ज्यान गएको भन्दै आक्रोशित मृतकका आफन्तले उचित क्षतिपूर्ति र न्यूरो अस्पतालमा लागेको उपचारको खर्च व्यहोर्नुपर्ने माग गरेको छ ।

यता अस्पताल प्रशासनले भने कुनै चासो नदेखाएको संघर्ष समितिका संयोजक इन्द्रबहादुर श्रेष्ठले बताए । उनले बिरामीको मृत्यु भएको २१ दिन पुगिसक्दा समेत अस्पतालले कुनै चासो नदिएको बताए ।

उनले आज पनि अस्पतालले पीडितका मागहरू सम्बोधन नगरेमा आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्ने चेतावनी दिए । उनले मृत्यु भएको २१ दिनसम्म परिवारलाई क्षतिपूर्ति दिने कुरा नै नगरेको भन्दै आक्रोश व्यक्त गरे ।

मृतकका परिवारले डा. अमृत थापाको नेतृत्वमा रहेको काठमाडौं मेडिकल कलेजको टिमले बिरामीलाई सस्तैमा अप्रेसन गरिदिने प्रलोभनमा पारी लापरबाही गरेर बिरामीको मृत्यु भएको बताए । संघर्ष समितिका सदस्यहरूले ‘सरकार ! पीडितलाई न्याय दे’, ‘मेडिकल माफिया मुर्दावाद’, ‘हाम्रो माग पूरा गर’, ‘केएमसी प्रशासन मुर्दावाद’, ‘लाइसेन्स लिएर मान्छे मार्न पाइँदैन’ जस्ता नारा लगाएर विरोध गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *