निर्वाचनमा नेपाल-भारत सीमामा कडाइ गर्नेबारे दुई देशका अधिकारीबीच छलफल

आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाल-भारत सीमा क्षेत्रमा कडाइ गर्ने सम्बन्धमा दुई देशका अधिकारीहरूबीच छलफल भएको छ ।

भारतसँग सिमाना जोडिएका नेपालको सुनसरी र सप्तरी जिल्लाका अधिकारीहरूले भारतीय पक्षसँग निर्वाचनको बेलामा अपनाउनुपर्ने सीमा सतर्कताको सम्बन्धमा छलफल गरेका हुन् ।

बिहीबार सुनसरीको तरहरामा भएको बैठकमा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवलगायतको नेपाली टोली र भारतको सुपौल जिल्लाका जिल्लाधिकारी कौशल कुमारलगायतको टोलीको सहभागिता रहेको थियो । बैठकमा निर्वाचनको बेला सीमामा हुनसक्ने अवैध क्रियाकलापलाई रोक्ने सम्बन्धमा छलफल भएको छ ।

छलफलपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले खुला सिमानाको बोर्डरबाट हुने अवैध क्रियाकलापलाई नियन्त्रण गर्ने सम्बन्धमा कुराकानी भएको बताए । उनले निर्वाचनको ७२ घण्टा अगाडिदेखि सीमा बन्द गर्ने विषयलाई कसरी कडाइका साथ पालना गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको जानकारी दिए ।

बैठकपछि भारतको सुपौल जिल्लाका जिल्लाधिकारी कौशल कुमारले नेपालको निर्वाचनलाई शान्तिपूर्ण बनाउन सीमामा आफूहरूले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको बताए । उनले निर्वाचन हुनु ७२ घण्टा अगाडि बोर्डरमा कडाइ गर्न आफूहरू तयार रहेको र सोहीअनुरूप तयारी गर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *