
मुक्तकमैया, कमलरीको समस्या समाधान गर्न सरकारले पहल गर्छ : परराष्ट्रमन्त्री राणा


परराष्ट्रमन्त्री आरजु राणा देउवाले मुक्तकमैया, कमलरी, हरवा–चरवा, हलियाको समस्या समाधान गर्न वर्तमान सरकारले विशेष पहल गर्ने प्रतिबद्धता जनाएकी छन् ।
नेपाली काँग्रेस थारु विभाग तथा नेपाल थारु संघले आज कैलारी गाउँपालिकाको हसुलियामा आयोजना गरेको प्रथम कैलाली जिल्ला भेला उद्घाटन कार्यक्रममा उनले मुक्तकमैया, कमलरी, हरवा-चरवा, हलियाको जीवनस्तर सुधारका लागि सरकारले आवश्यक नीति बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।
परराष्ट्रमन्त्री राणाले सरकारले थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोगको पहिलो चरणमा स्कुल स्तरबाट चेकजाँच गर्ने व्यवस्था मिलाउने तयारी गरिरहेको जानकारी दिइन् । उनले विशेष गरी नेपालमा सिकलसेल रोग थारु समुदायमा देखिने गरेको भनिए पनि अन्य देशमा अरु समुदायमा पनि यो रोग देखा पर्न थालेको अनुसन्धानहरूले देखाएका बताइन् ।
उनले थारु समुदायलाई राज्यका विभिन्न निकायमा पहुँच बढाउन सरकारले योजना पहल गर्दै गइरहेको उल्लेख गरिन् । नेपाली काँग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी मन्त्री राणले थारु समुदायको पहुँच विस्तार गर्ने उद्देश्यले काँग्रेसले थारु विभाग गठन गरेको जानकारी दिइन् ।
प्रतिक्रिया