कांग्रेस पहिलो पार्टी बन्छ, गठबन्धनका अन्य दलसँग मिलेर सरकार बनाउँछ : सहमहामन्त्री परियार

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

आइतबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा पार्टीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।

उनले निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्ने र गठबन्धनभित्रका अन्य दलहरूसँग मिलेर सरकार बनाउने बताए । उनले गठबन्धनमा आबद्ध दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका पार्टीको घोषणापत्र र कांग्रेसको घोषणापत्रमा नीतिगत रूपमा धेरै फरक नपर्ने भन्दै सरकार बनाउन सजिलो हुने पनि उल्लेख गरे । सहमहामन्त्री परियारले निर्वाचनपछि बन्ने सरकारले पार्टीको संकल्पपत्र कार्यान्वयन गर्ने बताए ।

सहमहामन्त्री परियारले भ्रष्टाचार आरोपी नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई टिकट दिएकोप्रति कुनै ग्लानि नभएको बताए । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले नेपाली कांग्रेसका नेताहरूलाई प्रतिशोध साँध्न भ्रष्टाचारको मुद्दा अगाडि बढाएको उनले बताए । गच्छदारलाई मुद्दा चलाउने निर्णय प्रतिशोधपूर्ण निर्णय भएको पार्टीको ठहर रहेको उनले स्पष्ट पारे ।

उनले सञ्चारकर्मीहरूको जिज्ञासको जवाफ दिँदै गठबन्धनका कारण आफ्नो पार्टीका दलित समुदायका नेताहरूले टिकट नपाएको बताए । दलित नेताहरूको नाम सिफारिस भएको ठाउँमा गठबन्धनका अन्य दललाई छोड्नुपरेको उनले बताए । उनले दलित समुदायको भएकै कारण पार्टीले टिकटबाट वञ्चित नगरेको स्पष्ट पारे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *