भक्तपुरमा कार, मोटरसाइकल र बस ठोक्किँदा एक बालकको मृत्यु, एक घाइते

जगातीबाट काठमाडौँतर्फ आउँदै गरेको तीन सवारी साधन अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

एकतर्फी रूपमा जगातीबाट काठमाडौँ आउँदै गरेको बा६च ८८५८ नंको कार, बा५५प९९२२ नं मोटरसाइकल र बा४ख५७९६नंको बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दोलखा बिगु गाउँपालिका–६ खोपाचागु घर भई हाल काठमाडौँ बौद्ध बस्ने ६ वर्षीय आर्जन शेर्पाको आज नर्भिक अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक मृतक बालकका पिता ४९ वर्षीय ढावा शेर्पाको भने भक्तपुरस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । प्रहरीले दुर्घटना भएका तीनवटै सवारी सधान र बस चालक दोलखा भिमेश्वर नगरपालिका–४ जिलु बस्ने २६ वर्षीय भरत चौलागाईं र कार चालक भक्तपुर नगरपालिका–२ इताछे बस्ने २६ वर्षीया रिया कायस्थलाई प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रहरीका अनुसार एक पैदल यात्रुले अचानक बाटो काटेपछि अगाडि रहेको कारले ब्रके लगाउँदा पछाडि रहेको मोटरसाइकल कारमा ठोक्किएर लडेको र पछाडि आइरहेको बसले मोटरसाइकलमा सवार यात्रुलाई ठक्कर दिएको हो । मोटर साइकलमा सवार महिलालाई भने केही नभएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *