वि.सं. २०८२ को पात्रो माघ तेस्रो सातासम्म बजारमा आउने

वि.सं. २०८२ को पञ्चाङ्ग (पात्रो) माघ तेस्रो सातासम्म बजारमा ल्याउने गरी तयारी भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

पञ्चाङ्गकारले ग्रहगणित गणना गरेर रुजु भइसकेकाले बाँकी काम सिध्याएर समितिले स्वीकृति दिन लागेको हो । समितिले स्वीकृति दिएपछि पात्रो प्रकाशन हुनेछ ।

वि.सं. २०८२ का लागि समितिले चाड पर्वको निर्णय पनि गरिसकेको छ । विवाह, व्रतबन्धलगायतको मुहूर्तको निर्णय केही दिनमै गरिने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए ।

वि.सं. २०८२ का लागि २०८१ सालसम्म प्रकाशन भएका १४ पञ्चाङ्ग र नयाँ तीन वटाले प्रकाशन अनुमतिका लागि निवेदन दिएको पनि उनले सुनाए ।

मन्त्रिपरिषद्ले वि.सं. २०७७ पुस २० गते गरेको समितिको गठन आदेशको स्वीकृतिबमोजिम पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेण्डर) प्रकाशनको अनुमति दिँदै आएको छ । गठन आदेशबमोजिम समितिको स्वीकृतिबिना पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेण्डर) प्रकाशन गर्न पाइँदैन ।

स्वीकृतिबिना प्रकाशन गरिएका पात्रोलाई नियमबमोजिम आवश्यक कारबाही गरिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए । वि.सं. २०८२ का लागि पनि केही पात्रो समितिको स्वीकृति नलिइ प्रकाशन भइसकेको सूचना आएकाले तिनलाई के गर्ने भन्ने विषयमा समितिमा छलफल भइरहेको जानकारी उनले गराए ।

समितिको स्वीकृति नलिइ प्रकाशन भएका पात्रो प्रयोग गर्दा समस्या पर्ने भएकाले सचेत हुन आह्वान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर