विषयवस्तु नबुझी प्रदेश मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिए : काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकाले बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले एकतर्फी रूपमा लान्छना लगाइनु मन्त्रीको गैरजिम्मेवारीपन रहेको बताएको छ। महानगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै मन्त्री लामिछानेले सहयोग गर्नेभन्दा पनि अनेकन लान्छाना लगाएको बताएको हो।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लामिछाने माघ २ गते एक कार्यक्रममा काठमाडौं महानगरपालिकाले प्रदेश सरकारलाई राजस्वबाट उठेको ४० प्रतिशत रकम नबुझाएको बताएका थिए।
‘उक्त बारेमा काठमाडौं महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,सो कार्यक्रममा प्रदेश सरकारका माननीय मन्त्रीले महानगरपालिकाले राजस्व प्रदेश सरकारलाई बुझाउनुपर्ने भए पनि अहिलेसम्म राजश्व नबुझाएको र बजेट चाहिएपछि प्रदेश सरकारसँग बजेट माग्नेभन्दा बाहेक अरू कुरामा कहिल्यै पनि प्रदेश सरकारसँग समन्वय भइरहेको छैन, बजेटको बेलामा आउने, तर कानुन निर्माणको कुरामा के, के झन्झट छन के, के फुकाइदिनुपर्यो, सो गर्न तयार रहेको भनी राखेको भनाइ आफैँमा गैरजिम्मेवार र विषय वस्तुको जानकारी नलिई व्यक्त गरेको देखिन्छ,’विज्ञप्तिमा उल्लेख छ।
महानगरपालिकाले श्रावण १ गते देखि पौष मसान्तसम्म असुल गरेको विज्ञापन कर र मनोरन्जन कर बापतको रकम अर्ध वार्षिक रुपमा पठाउने गरिएकोमा यस वर्ष पौष मसान्तसम्म ६० प्रतिशतले हुने रकम स्थानीय संचित कोषमा दाखिला हुने र ४० प्रतिशतले हुने रकम बागमती प्रदेश संचित कोषमा दाखिला गर्ने गरी निर्णय भइसकेको जनाएको छ।
‘निर्णय भइसकेको कुरालाई अतिरन्जित गरेर सो भनाइ आएको प्रति काठमाडौं महानगरपालिका दुस्ख व्यक्त गर्दछ,’विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया