भारतीय र चिनियाँ ‘ग्याङ’को अवैध जुवा विवाद, प्रहरी देखेर किन भागे चिनियाँ ?
मकवानपुर प्रहरीले काठमाडौंबाट अपहरण भएको भनिएका चिनियाँ नागरिकको सकुशल उद्वार गरेर उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी प्रधान कार्यालयबाट पाएको सूचनाका आधारमा सबै नाकामा राखेको चेकपोस्ट र सर्च अपरेशनपछि चारजना भारतीय र चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएर अपराध अनुसन्धानको जिम्मा लगाएको हो ।
मकवानपुर प्रहरीले चारजना भारतीयलाई भिमफेदीको जंगलबाट र चिनियाँ नागरिकलाई फर्पिङ क्षेत्रबाट डीएसपीको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीलाई देखेपछि भागेका चिनियाँ नागरिक अन्तिममा पक्राउ परेका हुन् ।
यस्तै अपहरण गरिएको भनिएका चिनियाँ नागरिक र उनलाई अपहरणगर्ने भारतीय समूहबीचमा अवैध जुवा, तस्करी तथा अन्य गैरकानूनी कारोबारमा साझेदारी रहेको खुलेको छ ।
प्रहरी उच्च स्रोतका अनुसार यो समूहले अवैध जुवा र सट्टेबाजीमा साझेदारी गरेको थियो । भारतीय समूहलाई दिनुपर्ने रकम नदिएर चिनियाँ नागरिक वु हुएन हुएन सम्पर्कविहिन भएपछि भारतीय समूह उनको खोजीमा नेपाल आएको थियो ।
उनीसँग सम्पर्क भएपछि भारतीय समूहले हिसाब मिलाउन भारततर्फ लग्न खाेजेका थिए ।
स्रोतका अनुसार पक्राउ परेका चारैजना भारतीय नागरिक बिरुद्ध भारतमा समेत प्रहरीमा समेत उजुरी रहेको छ ।
स्रोतका अनुसार अपराध अनुसन्धान कार्यालयले अपहरण भनेपनि चिनियाँ नागरिक निकटको सूचनाका आधारमा यो अपरेशन चालिएको हो ।
चिनियाँ समूहसँग अपराध अनुसन्धानका उच्च अधिकारीहरुको साँठगाँठ रहेको विषयमा समेत प्रहरी प्रधान कार्यालयले अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया