संसदमार्फत आउनुपर्ने कानूनहरु अध्यादेशबाट अघि बढाउँदा सरकारमाथि प्रश्न उठ्यो : एनपी साउद
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी (नारायणप्रकाश) साउदले संसदमार्फत विधेयकका रुपमा आउनुपर्ने कानूनहरु अध्यादेशमार्फत अघि बढाउँदा सरकारमाथि प्रश्न उठेको बताएका छन्।
आइतवार बुटवलमा आयोजित एक कार्यक्रममा उनले उक्त कदमबाट सरकारमाथि प्रश्न उठेको बताएका हुन्। उनले अध्यादेशबाट आएको कानून संसदबाट पारित नभएसम्म दिगो हुन नसक्ने बताए।
अध्यादेशबाट ल्याइएका कानूनहरु अस्थायी प्रकृतिको हुने भएकाले लामो समयसम्म रहन नसक्ने उनको भनाइ छ। उनले सरकारले अध्यादेशमार्फत ल्याएको कानूनमा विवादास्पद कुरा नभएको कारण प्रतिपक्षले स्वीकारेको बताए।
‘संसद नबसेको बेलामा हामीले अध्यादेशमार्फत पनि कानून बनाउन सक्छौँ। अध्यादेशबाट कानून बनाए पनि त्यसलाई जबसम्म संसदले पारित गर्दैन तबसम्म त्यो कानून दिगो हुन सक्दैन‚’ नेता साउदले भने, ‘त्यसकारण संसदबाट विधेयकको रुपमा आउनुपर्ने ठाउँमा अध्यादेशका रुपमा आउँदा प्रश्न उठाउने ठाउँ त छ तर त्यसमा भएका कुराहरु त्यति विवादस्पद छैनन्। त्यसैले प्रतिपक्षदेखि लिएर अरुले पनि त्यसलाई स्वीकार गरेको देखिन्छ।’
प्रतिक्रिया