नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई समृद्ध र जनतालाई सुखी बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
शनिवार पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा आयोजित जलपान समारोहमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आजको दिन सिंगो नेपालीहरू र सिंगो राष्ट्रको निम्ति पनि गौरवको दिन भएको उल्लेख गरे । उनले आधुनिक नेपालको निर्माता, आधुनिक नेपाल एकीकरण गर्ने अभियन्ता पृथ्वीनारायण शाह नेपाल आमाको असल सन्तती, असल योद्धा भएको बताए ।
उनले पृथ्वीनारायाण शाह राष्ट्रको साझा सम्पत्ति भएको बताए । नेपाल जस्तो भूपरिवेष्टित राष्ट्रको परराष्ट्रनीतिका आधारहरू अघि सार्ने व्यक्तित्व रहेको पनि बताए ।
अध्यक्ष नेपालले भने ‘यो सिङ्गै नेपालीहरूको र सिंगो राष्ट्रको निम्ति पनि गौरवको दिन हो । यो दिन आफैँमा पनि गौरवको दिन हो । आधुनिक नेपालको निर्माता, आधुनिक नेपाल एकीकरण गर्ने अभियन्ता पृथ्वीनारायाण शाह नेपाल आमाको असल सन्तति, असल योद्धा हो । जसले इतिहास रच्नुभयो । उहाँ सबैको साझा सम्पत्ति हो । हामी सबैले उहाँलाई सम्मान गर्नुपर्छ, उहाँको वीरताको प्रशंसा गर्नुपर्छ । नेपाल जस्तो भूपरिवेष्टित राष्ट्रको परराष्ट्रनीतिका आधारहरू अघि सार्ने व्यक्तित्व हुनुहुन्छ । नेपाल राष्ट्रलाई माया गर्नुपर्ने, देशलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता छ । देशको गौरवगाथालाई माथि उठाउनुपर्ने आवश्यकता छ । देशलाई समृद्ध र जनतालाई सुखी बनाउनुपर्ने आवश्यकता छ । पृथ्वीनारायण शाहको दिव्योपदेश जति प्रचार हुनुपर्ने हो त्यो हुन सकेको छैन ।’
अध्यक्ष नेपालले पृथ्वीनारायण शाहको दिव्योपदेश हुनुपर्ने जति प्रचार गर्न नसकेको बताए ।
प्रतिक्रिया