प्रहरीमा स्टाफ कलेज सुरु, १४४ प्रहरी अधिकृतको सर्टलिस्ट तयार

नेपाल प्रहरीले आफ्नै स्टाफ कलेज स्थापना गरेको छ ।

पुलिस लिडरसिप एन्ड स्टाफ कलेजले मंगलबार स्टाफ कोर्सका लागि १४४ प्रहरी अधिकृतको प्रारम्भिक सूची बनाएर एक साताभित्र प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ । उनीहरूमध्ये ३५ जनाले एक वर्षमा ‘पुलिस लिडरसिप एन्ड स्टाफ कलेज (एमपिएस)’ कोर्स गर्न पाउनेछन् ।

यस्तो कोर्स नगर्ने एसपी र एसएसपीलाई बढुवाको दोस्रो सूचीमा राखिने र त्यसभन्दा माथि बढुवा नहुने मन्त्रिपरिषद्मा रहेको प्रहरी ऐनको विधेयकमा उल्लेख छ । कोर्स लिएका अधिकारीहरूलाई प्रहरी सेवामा गुणात्मक सुधार गर्न, रणनीतिक सोचको विकास लिन र निर्णय क्षमतामा वृद्धि गर्न सहयोग पुग्ने बताइन्छ ।

०७० सालको चैतमा भर्ना भएका प्रहरी निरीक्षक आधारभूत तालिमको १५८ तथा पिजी सातौँ ब्याचबाट स्टाफ कलेज लागू गर्ने निर्णय प्रहरीले गरेको छ । यो ब्याचका ६५ जना डिएसपी भइसकेका छन् भने ७९ जना इन्स्पेक्टर छन् ।

गत ११ पुसमा बसेको पुलिस लिडरसिप एन्ड स्टाफ कलेजको व्यवस्थापन समितिको बैठकले पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स कार्यप्रणाली–२०८१ र पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स प्रवेश परीक्षा कार्यादेश–२०८१ स्वीकृत गरेको थियो । त्यससँगै यसको कार्यान्वयन अघि बढेको हो । यही वर्ष फागुनको अन्तिम हप्ता तथा चैतको पहिलो हप्ता प्रवेश परीक्षा सञ्चालन गर्ने र चैतदेखि कोर्स सुरु गर्ने प्रहरीको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *