कोरम नपुगेर बैठक नै स्थगित हुने स्थिति भएपछि क्यालेण्डर बनाउन सांसदहरुको माग

प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिमा कोरम नपुगेर बैठक नै स्थगित हुने स्थिति सिर्जना हुन थालेपछि सांसदहरुले क्यालेण्डर बनाउनुपर्ने माग गरेका छन् ।

मंगलवार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले यस्तो माग गरेका हु्न् । समिति सचिवालयले समयमै जानकारी नदिने र क्यालेण्डर नबनाइएकै कारण समिति बैठकमा कोरम नपुग्ने समस्या रहेको उनिहरुको भनाइ छ ।

बैठकमा बोल्दै नेकपा(माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले समिति बैठकमा निर्णय गर्नको लागि आवश्यक सांसदको उपस्थिति नहुँदा सांसदहरु गैरजिम्मेवार जस्तो देखिएको बताए ।

उनले संसद चलेपछि त्यहीअनुसारको क्यालेण्डर बनाएपनि त्यसअघिको लागि समितिको छुट्टै क्यालेण्डर बनाउनुपर्ने बताए । समितिको काम अनुगमन गर्ने र उजुरीहरु हेर्ने मात्र भएको समेत असन्तुष्टि व्यक्त गरे ।

उनले अनुगमनलाई बढी प्राथमिकता दिँदा समितिले गर्नुपर्ने मुख्य कामहरु गर्न नसकिरहेको बताए ।

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले समितिले गर्ने निर्णय र निर्देशनहरुको सुनिश्चतता गर्नुपर्ने बताए ।

उनले समितिले गरेका निर्णय र निर्देशनहरु सान्दर्भिक नभए किन निर्णय र निर्देशनहरु दिने ? भन्दै प्रश्न समेत गरे ।

उनले बैठकको कार्यतालिकाबारे जानकारी दिने सवालमा लापरबाही नगर्न समिति सचिवको ध्यानाकर्षण गराए ।

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद निशा डागीले समितिले आफ्नै क्यालेण्डर बनाएर काम कारबाही गर्नुपर्ने बताइन् ।

मन्त्रीको समयबारे समितिलाई थाहा नहुने तर मन्त्रीको उपस्थिति बिना समिति बैठक अगाडि बढ्न नसक्ने भएका कारण क्यालेण्डर आवश्यक रहेको उनको भनाइ छ ।

बैठकमा अधिकांश सांसदहरुले समितिका काम कारबाहीहरु प्रभावकारी बनाउन छुट्टै क्यालेण्डर बनाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *