च्याउको बीउमा आत्मनिर्भर हुनेगरी काम गर्दैछौं : कृषिमन्त्री अधिकारी

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले च्याउको बीउमा आत्मनिर्भर हुनेगरी सरकारले काम अघि बढाएको बताएका छन् ।

सोमवार राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ उत्पादक किसान संघ नेपालले काठमाडौंमा आयोजना गरेको च्याउ महोत्सवमा उनले यस्तो बताएका हुन् ।

उनले काभ्रेको खोपासीमा च्याउ स्रोत केन्द्रको स्थापनाका लागि डिपिआर सम्पन्न भई कार्य अघि बढिसकेको बताए । उनले उक्त केन्द्रको निर्माण पश्चात् नेपाल गुणस्तरीय च्याउको बीउ निर्माणमा आत्मनिर्भर हुने विश्वास व्यक्त गरे । उनले च्याउ खेतीबाट किसानको आयआर्जन बढाउन, पोषणयुक्त खाद्यपदार्थको उपलब्धता बढाउन र निर्यातको सम्भावना बढाउन समेत टेवा पुग्ने बताए ।

उनले च्याउको गुणस्तरीय बीउको समस्याको कारण उत्पादक र उत्पादकत्व कम भएको उल्लेख गर्दै स्वदेशमै च्याउको गुणस्तरीय बीउ उत्पादनतर्फ सबैको ध्यान जान जरुरी रहेको उनको भनाइ छ । उनले च्याउ खेतीको सुदृढीकरणका लागि सरकार, निजी क्षेत्र र किसानहरूको संयुक्त प्रयास आवश्यक रहेको समेत बताए ।

उनले भने ‘नेपालमा व्यावसायिक रुपमा कन्ने, सिपारे, पराले, ज्ञानु, डर्मा लगायतका च्याउहरूको खेती भइरहेको छ । ४० डिग्रीको तापक्रममा उत्पादन गर्न सकिने दुधे च्याउ प्रविधिको विकास भएर व्यावसायिक खेती सुरु भइरहेको छ । यसका अलावा च्याउमा रोग किरा व्यवस्थापन, निर्मलीकरण, बीउका लागि समेत आवश्यक अनुसन्धान भई प्रविधिहरू आइसकेको छ । च्याउको गुणस्तरीय बिउको समस्याको कारण उत्पादक र उत्पादकत्व कम भएको कारणले अबको हाम्रो ध्यान स्वदेशमै च्याउको गुणस्तरीय बिउ उत्पादनतर्फ हुनुपर्ने जरुरी देखिएको छ । गुणस्तरीय बीउ कल्चर व्यवस्थापनका निमित्त कृषि मन्त्रालय मातहतका कार्यालयहरू तथा निजी क्षेत्रबाट सञ्चालनमा आएका तन्तु प्रजनन प्रयोगशालाको सुदृढीकरण तथा पानको गुणस्तर निर्धारण र नियमनका लागि प्रभावकारी कदम चाल्न आवश्यक छ । र सोको लागि मन्त्रालयमा कार्य भइरहेका कुरा जानकारी गराउन चाहन्छु । काभ्रेको खोपासीमा च्याउ स्रोत केन्द्रको स्थापनाका लागि डिपिआर सम्पन्न भई कार्य अगाडि बढेको छ । उक्त स्रोत केन्द्रको निर्माण पश्चात् नेपाल गुणस्तरीय च्याउको बीउ निर्माणमा पनि आत्मनिर्भर हुने मैले विश्वास लिएको छु । च्याउ खेतीबाट किसानहरूको आयआर्जन बढाउन पोषणयुक्त खाद्यपदार्थको उपलब्धता बढाउन र निर्यातको सम्भावना पनि बढाउन सक्छ । तर यसका लागि सरकार, निजी क्षेत्र र किसानको संयुक्त प्रयास आवश्यक छ ।’

काठमाडौंको भृकुटीमण्डपमा जारी मेलामा विभिन्न ४० वटा स्टलहरू रहेका छन् । मेलाले किसानलाई च्याउ खेतीतर्फ आकर्षित गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *