कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषित
नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड नेपालगञ्ज, बाँकेलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गरेको छ ।
राष्ट्र बैंक सञ्चालक समितिको आज (बुधबार) बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम कर्णालीलाई ’समस्याग्रस्त संस्था’ घोषणा गरेको हो ।
यस्तै अर्को व्यवस्था नभएसम्म कर्णाली विकास बैंकको व्यवस्थापन नेपाल राष्ट्र बैंकको नियन्त्रणमा लिइएको छ । उक्त संस्था सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ । समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप–निर्देशक विष्णुकुमार विश्वकर्मा र कानून महाशाखाका उप–निर्देशक जुगलकिशोर कुशवाहालाई सदस्य तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार गठन भएको समूहले यही पुस ११ गतेदेखि नै उक्त संस्थाको तोकिएको जिम्मेवारी सम्हाल्नेछ । राष्ट्र बैंकको उक्त व्यवस्थापन व्यवस्थापन समूहलाई समूह तोकिएको कार्यदिशसहित नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लगायतका प्रचलित कानूनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिइएको छ ।
प्रतिक्रिया