भूमध्यसागरमा विस्फोटपछि मालवाहक जहाज डुब्यो, दुई जना बेपत्ता

रूसी राज्यको स्वामित्वमा रहेको कार्गो जहाज भूमध्यसागरको अन्तर्राष्ट्रिय पानीमा डुबेपछि दुई जना चालक दलका सदस्य बेपत्ता भएको रुसको विदेश मन्त्रालयले मंगलबार टेलिग्राममा जनाएको छ ।

उर्सा मेजर ‘इन्जिन कक्षमा भएको विस्फोटपछि’ डुबेको मन्त्रालयको क्राइसिस युनिटले जनाएको छ ।

मन्त्रालयले १६ जना रुसी चालक दल सदस्यमध्ये १४ जनाको उद्धार गरेर स्पेनको कार्टाजेना बन्दरगाहमा लगिएको र दुई जना बेपत्ता रहेको जनाएको छ ।

स्पेनको समुद्री उद्धार सेवाले विज्ञप्तिमा जनाएअनुसार जहाजले सोमबार बिहान दक्षिणपूर्वी स्पेनको तटीय क्षेत्रमा खराब मौसममा रहँदा संकट सन्देश पठाएको थियो । जसमा जहाज एकातिर ढल्किएको र लाइफबोट छोडिएको जनाइएको थियो ।

सेवाका अनुसार स्पेनले हेलिकप्टर र उद्धार नौकाहरू पठाएर बाँचेकाहरूलाई बन्दरगाहमा ल्याएको थियो । त्यहाँ रेडक्रसले उनीहरूलाई सहयोग गरेको थियो ।

त्यसपछि एउटा रुसी युद्धपोत आइपुग्यो र जहाज स्पेनिस र अल्जेरियाको पानीको बीचमा भएकाले उद्धार कार्यको जिम्मा लियो, त्यसपछि उर्सा मेजर रातभरमा डुबेको थियो ।

‘बचेका व्यक्तिहरूको विवरणअनुसार मालवाहक जहाजले होल्डमा खाली कन्टेनर र डेकमा दुईवटा क्रेन बोकेको थियो’, स्पेनिस उद्धार सेवाले भन्यो ।

रुसी विदेश मन्त्रालयले जहाज रक्षा मन्त्रालयअन्तर्गतको नागरिक यातायात र लजिस्टिक्स सेवा प्रदायक ओबोरोनोलजिस्टिकाको सहायक कम्पनीको स्वामित्वमा रहेको जनाएको छ ।

ओबोरोनोलोजिस्टिकाको वेबसाइटमा रहेको नक्शाले कम्पनीले अन्य कुराहरूका साथै दक्षिणी रुसको नोभोरोसिस्कबाट सिरियामा रहेको रुसको नौसेना आधार टार्टससम्मको मार्ग समेटेको देखाउँछ ।

युक्रेनको जियुआर सैन्य गुप्तचरले सोमबार भनेको थियो, “रुसले आफ्ना केही हतियार र उपकरण टार्टस बन्दरगाहबाट लिबियामा समुद्री मार्गबाट ढुवानी गर्न थालेको छ ।”

मस्कोका सहयोगी बशर अल-असदलाई हटाइएपछि सिरियामा रुसी अड्डाहरूको भविष्यबारे अनिश्चितता छ ।

मरिनट्राफिक डट कममा सूचीकृत उर्सा मेजर १२४.७ मिटर (४०९ फिट) लामो सामान्य मालवाहक जहाज हो । यो रुसी शहर सेन्ट पिटर्सबर्गबाट रुसको सुदूर पूर्वी शहर भ्लाडिभोस्टकतर्फ जाँदै थियो ।

गत हप्ता ओबोरोनोलोजिस्टिकाले बन्दरगाहमा रहेको जहाजको तस्वीरहरूसहित एक प्रेस विज्ञप्ति जारी गर्दै यसले विशेष गरी ठूलो र भारी सामान ढुवानी गर्ने उल्लेख गरेको थियो । प्रत्येक ३८० टन तौल भएका क्रेनहरू र प्रत्येक ४५ टन तौल भएका आइसब्रेकरका ह्याच कभरहरू सुदूर पूर्वी रुसी शहर भ्लादिभोस्टकमा लैजाने भनिएको थियो ।

यसले यो आर्कटिक हुँदै बन्दरगाह र उत्तरी समुद्री मार्गको विकास गर्ने ‘राज्य’ प्रयासको हिस्सा भएको बताएको छ ।

कम्पनीका अनुसार यस्तो ठूलो उपकरणका लागि समुद्री मार्ग सबैभन्दा राम्रो हो र कम्पनीसँग यसमा ‘ठूलो अनुभव’ छ ।

एजेन्टस्त्भो अनुसन्धानात्मक समाचार साइटका अनुसार ह्याच कभरहरू उत्तरी समुद्री मार्गमा बाक्लो बरफ फुटाउन डिजाइन गरिएको लिडर नामक नयाँ आणविक आइसब्रेकरका लागि थिए ।

यो दुर्घटना रुसद्वारा कब्जा गरिएको क्रिमिया र दक्षिणी रुसबीचको जलडमरूमध्यमा डिसेम्बर १६ मा इन्धन तेल बोकेको एक रुसी ट्याङ्कर आंशिक रूपमा डुबेर ठूलो तेल चुहावट भएको घटनापछि आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर