रविको सांसद पद निलम्बनविरुद्ध सर्वोच्च जाँदै रास्वपा

पार्टी सभापति रवि लामिछानेलाई सांसदबाट गरिएको निलम्बनविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अदालत जाने भएको छ ।

राजनीतिक पूर्वाग्रह प्रेरित भएर कानुन विपरीत निलम्बन गरिएको भन्दै रास्वपाले अदालत जाने तयारी गरेको हो ।

सभापति लामिछानेविरुद्ध अदालतमा मुद्दा दायर भएसँगै कास्की प्रहरीले संसद सचिवालयलाई पत्र पठाएको थियो । सोही पत्रमा टेकेर सभामुखले सोमबार मुद्दाको फैसला नआउँदासम्म रविलाई निलम्बन गरेका थिए ।

सभामुखले उल्लेख गरेको ‘सम्पत्ति शुद्धीकरण ऐन, २०६४’ को दफा २७ मा सांसदको निलम्बनबारेमा स्पष्ट व्यवस्था नभएको रास्वपाको जिकिर छ ।

यस्तो अवस्थामा, ‘प्रतिनिधि सभा सञ्चालन नियमावली, २०७९’ को दफा २४८ (३०) अनुसार कारबाही प्रक्रिया अगाडि बढाइनुपर्ने उनीहरूको दाबी छ ।

सो नियमावलीअनुसार, सांसद पद निलम्बन हुनका लागि व्यक्तिलाई पुर्पक्षका लागि थुनामा राखिनु अनिवार्य हुन्छ । तर, रवि अहिले न्यायिक हिरासतमा मात्र छन्, पुर्पक्षको लागि जेल गाइसकेका छैनन् ।

यसैले निलम्बन कानुनसंवत् नभएको भन्दै अदालत जाने तयारीमा रहेको नेताहरूले बताएका छन् ।

हिजै रास्वपाका तीन सांसदहरूले सभामुख देवराज घिमिरेलाई भेटेर तत्काल निलम्बन नगर्न आग्रह गरेका थिए ।

नियमावलीको प्रावधान देखाउँदै पुर्पक्षको सुनवाइभन्दा अगाडि नै निलम्बन गर्न नमिल्ने तर्क गरेका थिए । सभामुखले भने आफूले कानूनसम्मत निर्णय लिने आश्वासन दिए । तर, बेलुका निलम्बनको सूचना जारी गरेका थिए ।

रास्वपाले तत्काल संसदीय दलको नेता समेत चयन नगर्ने भएको छ । रास्वपाका एक नेताले भने, ‘हामीले रविको निलम्बन स्वीकारेका छैनौँ । कानुनी निरूपण नभएसम्म अर्को संसदीय दलको नेता खोज्दैनौँ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर