बैंकहरुलाई खराब कर्जा र तरलता व्यवस्थापनको चुनौती
पछिल्लो समय बैंकहरुमा देखिएको अधिक तरलता र वृद्धि भइरहेको खराब कर्जा व्यवस्थापन बैंकहरुलाई प्रमुख चुनौती बनेको छ । ऋण असुलीमा पनि ठूलो चुनौती देखिएको छ ।
ऋण तिर्नु पर्दैन भन्ने अभियान सञ्चालनका कारण बैङ्कहरूबाट लिएको कर्जा समयमा नै बुझाउन नगएको अवस्था छ । बैङ्कहरूले कर्जा असुली गर्न नसक्दा दिन प्रतिदिन बैङ्कहरूको खराब कर्जामा पनि वृद्धि हुने देखिएको छ । तीन चार वर्ष पहिला १ प्रतिशत रहेको बैङ्कहरूको एनपीए पछिल्लो समय अधिकांश बैङ्कहरूको ४ प्रतिशत माथि पुगेको छ । बैंकहरुमा एनपीए वृद्धि हुँदै जानु बैङ्कहरूको लागि ठूलो चुनौती हो । यसले अझ खराब कर्जा वृद्धि गर्ने, ऋण असुलीमा समस्या हुनसक्छ ।
अर्थतन्त्रको शिथिलता कम हुन नसक्दा बैंकिङ क्षेत्रमा समस्या झनै बढ्दो क्रममा देखिएको छ । निजी क्षेत्रको मनोबल बढ्न नसक्दा बैङ्कहरूले उठाएको कर्जा असुली गर्न सकिरहेका छैनन् । ब्याजदर निकै न्यून हुँदा पनि असुलीमा सुधार हुन सकेको छैन । बैङ्कहरूको निक्षेप बढ्दा कर्जाको माग न्यून छ । बैंकहरुमा विगतमा प्रवाह भएको कर्जाबाट नियमित सावाँब्याज उठ्न नसक्दा निष्क्रिय कर्जा बढ्दै गएको हो ।
बैङ्कहरूको निष्क्रिय कर्जा उच्च रुपमा बढ्दै जाँदा त्यसको असर गैरबैंकिङ सम्पत्तिमा परेको बैंकर्सहरुको भनाई छ । अर्थतन्त्रमा छाएको संकुचनको असर बैङ्कहरूको रिकभरीमा पर्नसक्ने चिन्ता पनि उत्तिकै देखिन्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैङ्कहरूको खराब कर्जा ३.४० प्रतिशत रहेको छ । आर्थिक २०७९/८० को पहिलो त्रैमासमा बैङ्कहरूको औसत खराब कर्जा १. ६६ प्रतिशत रहेको थियो । गत वर्षको पहिलो त्रैमासको तुलनामा वाणिज्य बैङ्कहरूको खराब कर्जा १०३ प्रतिशतले बढेको देखिन्छ ।
७ खर्ब बढी लगानीयोग्य रकम तर बजारमा छैन कर्जाको माग
कर्जाको ब्याजदर एकल बिन्दुमा झरेपनि बैंकहरुमा कर्जाको माग बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको कात्तिकसम्मको तथ्यांकअनुसार कर्जाको औसत ब्याजदर ९.०७ प्रतिशतमा झरेको छ । पछिल्लो समय बैंकहरुमा अधिक तरलता थुप्रिएको छ ब्याजदर पनि निरन्तर रुपमा घट्दो अवस्थामा छ । ब्याजदर जति घटेपनि अर्थतन्त्र चलायमान नहुँदा कर्जाको माग भने बढेको छैन । चालु आर्थिक वर्षको ५ महिनामा २ खर्ब पनि कर्जा लगानी हुन सकेको छैन ।
अहिले बैंकहरुमा ७ खर्ब बढीको लगानीयोग्य रकम छ । तर बजारमा कर्जाको माग छैन । बैंकहरुलाई यति बेला खराबकर्जा र अधिक तरलता दुवै व्यवस्थापन गर्न चुनौती देखिएको छ । बैंकहरुमा थुप्रिएर बसेको ७ खर्ब व्यवस्थापन गर्न नसके बैंकहरुमा समस्या आउनसक्ने बैंकर्सहरुले बताएका छन् । उनीहरुले नेपालको बैंक तथा वित्तीय क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै पछिल्लो समय बैंकहरुमा थुप्रिएको ७ खर्ब रकम व्यवस्थापन गर्न नसके आगामी दिन झनै बैंकहरुलाई अप्ठ्यारो पर्ने बताएका छन् ।
सरकारले बैंक तथा वित्तीय क्षेत्रलाई सबल बनाउनको लागि बेवास्ता गरेको उनीहरूको भनाई छ । पछिल्लो बैंकहरु चुनौतीपूर्ण अवस्थामा कठिन रुपमा बाँचिरहेको बैंकरहरुले बताए । बैंकहरुमा देखिएको चुनौती समाधानको लागि तरलता व्यवस्थापनको वातावरण राष्ट्र बैंकले गर्न आवश्यक देखिएको उल्लेख गरे । बैंकर्सहरुले राष्ट्र बैंकको अनावश्यक हस्तक्षेपका कारण बैंकले लगानीकर्तालाई लाभांश वितरण गर्न समेत नसकेको आरोप लगाए । बैंकले सीमित बैंकको स्वार्थमा नीति नियम परिवर्तन गर्ने तथा बैंकलाई नाफा वितरण गर्न नदिन विभिन्न बाध्यकारी नियम ल्याएर लगाम लगाउँदा बैंकहरु समस्यामा परेको बैंकर्सहरुको भनाई थियो ।
नेपाल बैंकर्स संघका निःर्वतमान अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसीले अहिले बैंकिङ क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए । उनले अर्थतन्त्रमा आएको शिथिलताका कारण कर्जा माग बढ्न नसक्दा बैंकिङ क्षेत्रले सकस भोग्नुपरेको बताए । उनले बैंकहरुमा तरलतामा देखिएको असमानताले पनि बैकहरूमा समस्या पारेको दाबी गरे । उनले अहिले बैंकहरुमा सात सय अर्ब लगानीयोग्य रकम बोकेर बसेको बताए ।
उनले भने ‘नेपाली बैंकिङ क्षेत्रको चार दशकको यात्रामा सम्भवतः बैंकिङ क्षेत्र आजको दिनमा चुनौतीपूर्ण अवस्थामा उभिएको छ । विशेषगरी आर्थिक गतिविधि अवस्थाको इनब्यालेन्स र लगातार अस्थिर राजनीतिको कारणले मुलुकमा अर्थतन्त्र स्लोडाउन,आर्थिक वृद्धि न्यून हुने र कर्जाको माग घट्दै जाँदा चुनौतीपूर्ण समय छौं । बैंकहरुमा मुख्य रुपमा तीन समस्या देखेका छौं ।’
उनले बैंकहरुमा बेलाबेलामा तरलता कहिले बढी हुने कहिले कम हुने अवस्थाले आगामी दिनमा बैंकहरुमा थप समस्या निम्त्याउने जोखिम देखिएको बताए । उनले अस्थिर राजनीति, अर्थतन्त्रमा आएको शिथिलता,बाह्य दबाब, कर्मचारी बाहिरिने तथा विदेश पलायन जस्ता समस्याले बैंकिङ क्षेत्रमा ठूलो चुनौती देखापरेको बताए । उनले यस्ता समस्याको कारणले बैङ्कहरूको रिटर्न अन इक्विटी घटेर ९ प्रतिशतको हाराहारीमा पुगेको बताए ।
उनले भने ‘समय–समयमा देखिने तरलताको अवस्था छ । जुन धेरै हुने र कहिले थोरै हुने अवस्था हुँदा बैंकहरुलाई चुनौती रहेको बुझेका छौं । बैङ्कहरूले अहिले ७ सय अर्बको तरलता लिएर बसेका छौं । जुन रकमको व्यवस्थापन गर्न नसक्दा भोलिको दिनमा थप जोखिममा पुग्ने अवस्था देखिरहेका छौं ।’
उनले चालु आर्थिक वर्षको चार महिनाको रिपोर्ट हेर्दा बैङ्कहरूको ४ प्रतिशत माथि खराब कर्जा पुगेको बताए । उनले दक्षिण एसियाका मुलुकहरू हेर्दा एनपीएमा नेपाल राम्रो अवस्थामा बताए । उनले बेला–बेलामा हुने कर्मचारी प्रतिको धरपकड लगायत बाह्य दबाबलाई सरकारले नियन्त्रण गर्न नसक्दा बैंकहरु अप्ठ्यारो अवस्थामा पुगेको बताए ।
संघका नवनिर्वाचित अध्यक्ष सन्तोष कोईरालाले पनि नेपालका बैंकहरु चुनौतीपूर्ण अवस्थामा रहेको बताए । उनले बैंकहरुमा रिकभरी,खराब कर्जा व्यवस्थापन, लाभांशका समस्याहरू रहेको बताए । उनले बैंक तथा वित्तीय संस्थाहरूमा संस्था भित्रैबाट बलियो स्थितिमा रहेको बताए । उनले तथ्याङ्कमा बैंकिङ क्षेत्र मध्यमस्तरको देखिने र समस्यै समस्या रहेको बुझाइ भएपनि आधारभूत रुपमा बैंकिङ क्षेत्र दृढ स्थितिमा रहेको उल्लेख गरे ।
अध्यक्ष कोईरालाले बैंकिङ क्षेत्रमा देखिएका वर्तमान समस्याहरूलाई चिरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनी नेपाल राष्ट्र बैंकले गर्दै आएको नियामकीय व्यवस्थाले बैंक तथा वित्तीय क्षेत्र सबल बनाउने उद्देश्य राखेर आउने गरेको उल्लेख गरे ।
उनले भने ‘बैंकिङ क्षेत्रमा धेरै समस्याहरू छन् । जसमा बैंकहरुमा रिकभरी, खराब कर्जा व्यवस्थापन,लाभांशका समस्याहरू रहेका छन् । तर यी सबै समस्यालाई चिरेर अघि बढ्नुपर्ने अवस्था छ । राष्ट्र बैंकबाट पछिल्लो समय आएका रेगुलेसन हुँदै आएका परिमार्जनले बैंकिङ उद्योगलाई दक्षिण एसियामा बलियो बनेको छ ।’
उनले राष्ट्र बैंकको भूमिकाले नेपाली बैंकहरुलाई दक्षिण एसियामै मजबुत बैंकिङ बनाउन सफल भएको बताए । नेपाली बैङ्कहरूले विवेकी बैंकिङ गर्दै आएकाले सुशासनका आधारमा अब्बल बन्दै आएको दाबी गरे । उनले बैङ्कहरूको प्रतिफलमा राम्रो नदेखिए पनि भित्रिरुपमा सबल रहेको जिकिर गरे । अध्यक्षका रुपमा बैंकिङ क्षेत्रको समस्या समाधानको लागि आफू कटिबद्ध रहने प्रतिबद्धता जनाए ।
पूर्वबैंकर राजनसिंह भण्डारीले बैंकले सीमित बैंकको स्वार्थमा नीति नियम परिवर्तन गर्ने तथा बैंकलाई नाफा वितरण गर्न नदिन विभिन्न बाध्यकारी नियम ल्याएर लगाम लगाएको आरोप लगाए । उनले राष्ट्र बैंकले बैंकका कार्यकारी अधिकृत,अध्यक्षसँगको छलफलमा लाभांशको धेरै आशा नगर्न भन्ने गरेको बताए । उनले बैङ्कहरूले सुशासनलाई उच्च प्राथमिकतामा राखेर राष्ट्र बैंकका निर्देशन पूर्णपालना गरी उच्चदरमा लाभांश बाँड्ने बैंकलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।
बैंकर्सहरुले बैंकलाई सबल र सक्षम बनाउनको लागि सबै क्षेत्रको सहयोग साथ आवश्यक रहेको बताए । उनीहरुले बैंकहरु पछिल्लो समय देखिएका समस्या समाधानको लागि सरकारले आर्थिक गतिविधिलाई चलायमान बनाउँदै लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया