पतिले बहुविवाह गर्दा पनि मुद्दामामिला गर्न रुचाउँदैनन् महिला
मुलुकको कानुनले बहुविवाहलाई दण्डनीय अपराध मानेको धेरै वर्ष भयो । मुलुकी अपराध संहिता, २०७४ ले बहुविवाह गर्नेलाई पाँच वर्षसम्म कैदको व्यवस्था पनि गरेको छ। महिला अधिकारका सवालमा वकालत गर्नेहरूले पनि बहुविवाहले महिला अधिकार कुण्ठित गर्ने चेतना फैलाएकै हुन्छन् तर सुदूरपश्चिममा भने बहुविवाह गरेर आफूमाथि अन्याय गर्ने श्रीमानलाई महिलाले मुद्दै नगरी छाडिदिने गरेका धेरै उदाहरण छन्।
कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडकी दुर्गा क्षेत्री आफू अन्यायमा परेको थाहा हुँदाहुँदै दोस्रो बिहे गर्ने श्रीमानसँग मुद्दा नगरी सहमतिमा बस्न बाध्य भएको बताउँछन्। ९ वर्ष पहिले ८ कक्षा पढ्दै गर्दा एउटै विद्यालयमा पढ्ने विवेक क्षेत्रीसँग उनले प्रेमविवाह गरेकी थिइन्। एक छोरा र एक छोरीकी आमा २३ वर्षकी दुर्गाले अहिले सौता बेहोर्नुपरेको छ ।
‘विवेकको नाममा आउने अचल सम्पत्ति मेरो नाममा गरिदिने, छोराछोरी र श्रीमती दुवैलाई मिलाएर लैजाने लिखित सहमति भएको छ’, दुर्गाले भनिन्।
घोडाघोडीकी शर्मिला ९परिवर्तित नाम० ले सोही ठेगाना भएका नरेन्द्रसँग १४ वर्षअघि प्रेम विवाह गर्नुभएको थियो । उनीहरूका १३ वर्षीया छोरी र सात वर्षका छोरा छन् । चार जनाको सुखी परिवार थियो तर श्रीमानले शर्मिलाकी बहिनी नाता पर्नेसँग दोस्रो बिहे गरे।
शर्मिला जस्तै बहुविवाहको मारमा परेकी छिन्, घोडाघोडीकै रीता (परिवर्तित नाम)। बाँकेकी रीता र घोडाघोडीका रमेशसँग १८ वर्ष पहिले प्रेम विवाह भएको थियो । उहाँको पनि १५ वर्षकी छोरी र नौ वर्षको छोरा छन् । आफैँ सरकारी विद्यालयको प्राथमिक तहको राहत शिक्षक रीता दम्पतीको दुई वर्षअघिसम्म जीवन ठिकठाक चलेको थियो । रमेशको गोप्य सम्बन्ध भएकी युवती गर्भवती भएपछि मात्र रीताले थाहा पाइन् । रीताले ती युवतीलाई अलग हुन सम्झाइन्। उनी मानिनन् ।
रमेशका परिवारले पनि उल्टै दोस्रो विवाहलाई सहमति दिन आफूलाई दबाब दिएको रीता बताउँछिन्। कानूनले बहुविवाहलाई बन्देज गरेको, आफूमाथि अन्याय भएको थाहा हुँदाहुँदै पनि रीता मुद्दामामिलाको झञ्ज्टमा पर्न चाहिनन्। बहुविवाहको मुद्दा लगाएपछि सबैबाट घृणा र अपहेलित हुनु पर्छ भन्ने डर रीतामा छ ।
यस्तै डरले दुर्गा पनि ग्रसित छिन्। ‘अर्को विकल्प नै देखिनँ मैले । बहुविवाहको मुद्दा हालेर श्रीमानलाई जेल त पठाउँला तर माइतमा पनि म कति बसौँला, घरपरिवारको भनाइ कति सुन्नुपर्ला, छोराछोरी एक्लै कसरी हुर्काउँला’, उनले भनिन्।
आफूसँग सम्पत्ति, जागिर र छोराछोरी छँदै छन् भनेर ढुक्क हुने शर्मिलाले पनि श्रीमानविरुद्ध मुद्दा नहाल्नुको कारण जोरीपारीकै डर हो। मुद्दा लगाएर आफू सबैको नजरमा नराम्रो हुन नचाहेको उनले बताइन् । मुलुकी अपराध संहिताको दफा १७५ को १ ले विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न हुँदैन भनेको छ । त्यसैगरी सोही दफाको उपदफा २ मा कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्नु हुँदैन भन्ने कानूनी व्यवस्था छ।
कानून मिचेमा दफा १७५ कै उपदफा ४ अनुसार एक वर्षदेखि पाँच वर्षसम्म कैद र १० हजार रुपियाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यो कानून कार्यान्वयन गर्न भने महिलाले निकै सकस बेहोर्नु पर्छ । त्यसैकारण धेरै महिलाले यो कानून अनुसार मुद्दा गर्न नसकेको महिला अधिकारका क्षेत्रमा काम गर्नेहरू बताउँछन्।गोरखापत्र दैनिकमा समाचार छ
प्रतिक्रिया