खड्का ल्याण्डको विवाद आफूसँग नजोडिएको मन्त्री खड्काको दावी
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल स्काउटसँग खड्का ल्याण्ड डेभलपमेन्टको विवाद कानुनी हिसावले आफूसँग नजोडिएको दाबी गरेका छन् ।
खड्काको कम्पनी खड्का ल्याण्ड डेभलपमेण्टले स्काउटको लैनचौरस्थित तीन रोपनी जग्गा र दुई वटा भवन भाडामा लिएर व्यापार गर्दै आएको थियो ।
नेपाल स्काउट र मन्त्री खड्काको कम्पनी खड्का ल्याण्ड डेभलपमेन्टबीचको विवाद यति बेला सर्वत्र चर्चाको विषय बनेको छ । तर मन्त्री खड्काको कम्पनीले भाडा बापत पैसा उठ्न नसक्दा स्काउटलाई पैसा तिर्न नसकेको बताएका छन् । उनले पछिल्लो समय नियोजित रुपमा आफू संग्लन नभएको कम्पनीको कारोबारमा आफ्नो नाम जोडेर समाचारहरू आएको दाबी पनि गरे ।
उनले आफूले मन्त्री भएर गरेका राम्रो काम देख्न नचाहनेहरूले राजनीतिक चरित्र हत्या गर्ने र मन्त्रीबाट हटाउने योजनाका साथ समाचारहरू आएको आरोप लगाए । मन्त्री खड्काले स्काउट ऋणमा पुगेपछि टेण्डर प्रक्रियाबाट जग्गा र भवन प्रतिस्क्वयर फिट ४७ रुपैयाँमा महिनाको २५ लाख भाडा तिर्नेगरी लिएको बताए । उनले आफू कम्पनीमा हुँदा समेत भाडाको समस्या नभएको तर कोभिडको समयमा सटर बन्द हुँदा भाडा उठाउन नसक्दा स्काउटलाई भाडा तिर्न नसकेको स्वीकार गरे ।
उनले भने, ‘स्काउटसँग मलाई जोडर समाचार आउनु नियोजित हो । केही गर्न खोज्दा मान्छेहरूलाई भुँडी पोल्ने भएको कारणले राजनीतिक चरित्र हत्या गर्ने सोचका साथ मन्त्रीबाट हटाउन पाए हुन्थ्यो भनेर मात्रै समाचारहरु आएका हुन् । स्काउट ऋणमा पुगेपछि मैले टेण्डर प्रक्रियाबाट भाडामा जग्गा लिएको हो । मैले प्रतिस्क्वायर फिट ४७ रुपैयाँ र महिनाको २५ लाख भाडा तिरेर बसेको हो । म स्काउटको जग्गा लिने कम्पनीमा म हुँदासम्म समस्या थिएन ।’ उनले स्काउटले विद्युत लाइन काट्ने, गेटमा ताल्चा लगाउने लगायतका काम निरन्तर भइरहेकाले विवाद बढेको बताए । कम्पनीले ४ करोड रुपैयाँ भाडा उठाउन बाँकी रहेको भन्दै ३ करोड रुपैयाँ स्काउटलाई तिर्न बाँकी रहेको स्वीकार गरे।
प्रतिक्रिया