कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गरे लोबुचे हिमालको सफल आरोहण

 नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोबुचे हिमालको सफल आरोहण गरेका छन् ।

उनले पाँच युवा साथीसहित ६,१४५ मिटर उचाइको लोबुचे हिमालको सफल आरोहण गरेका हुन् । मंसिर २१ गते खुम्बु क्षेत्रमा रहेका महामन्त्री शर्मासहितको टोलीले मंसिर २७ गते राति ११ः३० बजे बेस क्याम्पबाट आरोहण सुरु गरेका थिए । टोली मंसिर २८ गते बिहान ६ः४५ बजे चुचुरोमा पुगेको थियो ।

नेपालका हिमालहरूको सौन्दर्य र जलवायु परिवर्तनको प्रभाव उजागर गर्ने उद्देश्यले आरोहण गरिएको जनाइएको छ । महामन्त्री शर्माले हिमाल आरोहणलाई केवल व्यक्तिगत साहसिक यात्राका रूपमा नभई सामाजिक, पर्यावरणीय, र राजनीतिक चेतनाको माध्यमका रूपमा प्रस्तुत गरेका छन् ।

यस आरोहणले जलवायु परिवर्तन, हिमाली समुदायको सम्मान, आन्तरिक पर्यटन प्रवर्द्धन, संसद् सुधार, सामाजिक विकृति विरुद्धको आवाज, भ्रष्टाचारविरुद्धको कडा कदम, र स्थिर संसदीय प्रणालीको खोजी जस्ता विषयमा गहिरो सन्देश प्रवाह गरेको उनले बताएका छन् ।

संसद् दिवसको अवसरमा गरिएको यो आरोहणले सांसद र सरकारलाई वातावरणीय मुद्दाप्रति जिम्मेवार बनाउन प्रेरित गर्ने र नागरिकको विश्वासलाई सुदृढ गर्ने प्रयास गरेको महामन्त्री शर्माले बताए । टोलीमा अनुसन्धानकर्ता प्रकाश लामिछाने, इन्जिनियर सुभाष अधिकारी, पदम शर्मा, कीर्तिमानी आरोही मिङ्मा शेर्पा र लाक्पा शेर्पाको सहभागिता थियो। आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेक्सले गरेको थियो । महामन्त्री शर्मा संघीय संसदका दुवै सदनको वर्तमान कार्यकालका तर्फबाट लोबुचे हिमाल आरोहण गर्ने पहिलो सांसद बनेका छन् ।

0

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *