वर्तमान आर्थिक प्रगतिसँग म आफैँ सन्तुष्ट छैन, सुधार गर्न बाँकी छ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान आर्थिक प्रगतिसँग आफू सन्तुष्ट नभएको बताएका छन् ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा भएको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएको केही सुधारमा अर्थसमिति मात्रै नभएर आफू स्वयं सन्तुष्ट नभएको बताए । उनले अर्थतन्त्रमा समस्या भएपनि पछिल्लो समय सुधार हुँदै गएको बताए । उनले सरकारले अर्थतन्त्रमा देखिएका समस्याहरू क्रमशः समाधान गर्दै गएको उल्लेख गरे ।

उनले लामो समय लागेर थलिएको अर्थतन्त्र रातारात परिवर्तन गर्न नसकिने भन्दै अर्थतन्त्र सुधारको लागि केही समय लाग्ने बताए । उनले विदेशी मुद्राको सञ्चिति, तरलता, बैंकको ब्याजदर एकल अंकमा आएको र मूल्यवृद्धि नियन्त्रणमा रहेको बताए । उनले शेयर बजार लगायत अर्थतन्त्रका केही पक्षहरूमा सकारात्मक अवस्था रहेको दाबी गरे ।

उनले सरकारले समस्याहरूका चाङलाई एक–एक गरेर पन्छाउँदै उपलब्धिहरू आर्जन गर्नुपर्ने र त्यसका लागि सार्थक प्रयास चालिरहेको बताए । उनले राजश्व परिचालनका सन्दर्भमा पनि चालु आर्थिक वर्षको तीन महिनामा १७ प्रतिशत वृद्धि गरेको बताए । राजश्वको लक्ष्य पूरा गर्न ३०/३१ प्रतिशतको वृद्धि गर्नुपर्ने बाध्यता सरकारलाई रहेको बताए । उनले त्यसको लागि सरकारले राजस्व चुहावट, अनियमितता, अपराधजस्ता गतिविधि नियन्त्रणमा निरन्तर काम गरिरहेको बताए ।

उनले भने ‘अर्थतन्त्रमा समस्यामा छ, केही कठिनाइ छ । यो अस्वीकार गर्नुपर्ने विषय होइन । तर क्रमशः हाम्रा समस्या समाधान हुँदै गएका छन् र सुधारका काममा सफल हुँदै पनि गएका छौं । लामो समय लागेर थलिएको अर्थतन्त्र रातारात परिवर्तन गर्न सकिँदैन । यसका लागि केही समय लाग्छ, जुन हामीले निरन्तर प्रयास गरिरहेका छौं । हाम्रो अर्थतन्त्रका केही पक्षहरू राम्रा छन् । विदेशी मुद्राको सञ्चिति राम्रो छ । ब्यालेन्स अफ पेमेन्टको अवस्था राम्रो छ । तरलताको अवस्था राम्रो छ । बैंकको ब्याजदर एकल अंकमा आएको छ । मूल्यवृद्धि नियन्त्रणमा छ । शेयर बजार लगायत अर्थतन्त्रका केही पक्षहरूमा सकारात्मक अवस्था छ । अहिलेको आर्थिक प्रगतिसँग म स्वयं सन्तुष्ट छैन यहाँहरू पनि हुनुहुन्न । सरकारले अर्थतन्त्र सुधारमा धेरै प्रगति गर्नु छ । समस्याहरूका चाङलाई एक–एक गरेर पन्छाउँदै उपलब्धिहरू आर्जन गर्नु छ । त्यसका लागि सार्थक प्रयास चाल्नुछ । राजश्व परिचालनका सन्दर्भमा पनि चालु आर्थिक वर्षको चार महिनामा राम्रो छ । राजश्वको लक्ष्य पूरा गर्न ३०÷३१ प्रतिशतको वृद्धि गर्नुपर्छ । तर गत वर्ष १० प्रतिशत वृद्धि भएकोमा यो वर्ष ३० प्रतिशत राखेको यथार्थ बिर्सनुहुन्न । तथापि, हामी यो लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयास गरिरहेका छौं । राजश्व चुहावट, अनियमितता, अपराधजस्ता गतिविधि नियन्त्रणमा हामी निरन्तर काम गरिरहेका छौं ।’

अर्थमन्त्री पौडेलले शेयर बजारमा हुने सर्कुलर ट्रेडिङ, कर्नरिङ र म्यानुपुलेसन नियन्त्रणमा निरन्तर काम भइरहेको दाबी गरे । उनले सेयर बजारमा हुने पम्पिङ एण्ड डम्पिङ, सर्कुलर ट्रेडिङ, कर्नरिङजस्ता गतिविधि नियन्त्रणमा राख्ने बताए । उनले पछिल्लो समय शेयरबजार केही सुधार हुँदै गएको भन्दै नेपाल धितोपत्र बोर्डले पनि लामो समयपछि नेतृत्व पाएको बताए । उनले बजारमा अनियमित काम भएको गुनासोलाई कम गर्नेगरी काम गरिरहेको बताए ।

उनले नियमनको पाटो बलियो बनाउँदै लग्ने कार्यमा सरकार लागि परेको बताए । उनले पुँजीबजारको दिगो व्यवस्थापन र प्रवर्द्धनमा सरकारको ध्यान केन्द्रित रहेको बताए । उनले लगानीको वातावरण बनाउने कुरामा कानुनहरू अन्तरविरोधी रहेको भन्दै आवश्यक कानुन संशोधन गरी लगानीको वातावरण बनाउने बताए ।

उनले भने ‘शेयर बजारको सन्दर्भमा धितोपत्र बोर्डको नेतृत्व लामो समय विहीन भयो । अहिले सरकारले त्यसलाई व्यवस्थापन गरेका छौं । पछिल्लो समय शेयरबजार क्रमशः अगाडि बढ्दै छ । बजारमा कुर्लर ट्रेडिङ, कर्नरिङ र म्यानुपुलेसनका विषयमा सरकारले ध्यानमा राखेको छ । पुँजीबजार क्रमशः वृद्धि हुँदै गएको छ । त्यसलाई दिगो व्यवस्थापन र प्रवर्द्धन गर्ने सरकारको ध्यान छ । यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने होइन तर दिगो व्यवस्थापनमा ध्यान दिनुपर्छ । कुनैपनि अनुचित कुरा नहुन्न भन्ने कुरामा ध्यान दिनुपर्छ । लगानीको वातावरण बनाउने कुरामा कानुनहरू अन्तरविरोधी छन् । एउटा कानुनलाई लिएर काम गर्दा अर्को कानुनले अवरोध सिर्जना गर्दैैछ । लगानीको वातावरण बनाउने विषयमा विगतमा पनि प्रयास भएका छन् । तर सरकारले चाहेको जस्तो लगानी आउन सकेको छैन । यस विषयमा सरकारको ध्यान जान जरुरी छ । आवश्यक ऐन कानुनहरू परिमार्जन गरेर मुलुकमा लगानीको वातावरण बनाउने सोचमा सरकार छ । त्यसको लागि सरकारले गृहकार्य सुरु पनि गरेको छ । लगानीको वातावरणको निम्ति नेपालको पहिलो पटक कन्ट्री रेटिङको काम भएको छ । मुलुकका अर्थतन्त्रका सबै सूचकहरूको जानकारी लिएर त्यसको आधारमा निर्णय गरेका छन् ।’

उनले अर्थतन्त्रको अवस्था सुधार गर्न सरकार निरन्तर लागिपरेको उल्लेख गरे । उनले बैंकमा भएको तरलतालाई उत्पादनमूलक काममा लाग्नु आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर