चितवनको लगातार दोस्रो जित, पोखरा ८७ रनले पराजित
१८ मंसिर २०८१ १६:३४
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको छ ।
चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ ओभर २ बलमा ७४ रनमा अलआउट भयो । पोखराका नारायण जोशीले सबैभन्दा धेरै ३० रन बनाए । चितवनका सोहेल तानभिर, रिजन ढकाल र लुक बेनकेन्स्टेनले ३-३ विकेट लिए । चितवनको घातक बलिङसामु पोखरा पूर्णरूपमा निरीह बन्यो ।
यसअघि कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो । चितवनका रवि बोपाराले ५१ रन बनाए । पोखराका विपिन खत्री, बास डे लीड र रेमोन रेफरले २÷२ विकेट लिए । प्रतियोगितामा चितवनको यो लगातार दोस्रो जीत हो । चितवनले पहिलो खेलमा हिजो काठमाण्डौ गुर्खाजलाई हराएको थियो । पोखराले भने हारसहित प्रतियोगिताको शुरुवात गरेको छ ।
प्रतिक्रिया