प्रधानसेनापति सिग्देलद्वारा सकलदर्जाका एकल महिलाहरूसँग भेटघाट

प्रधानसेनापति अशोक राज सिग्देलले विगत द्वन्द्व तथा कर्तव्यपालनको क्रममा वीरगति प्राप्त गरेका सकलदर्जाका एकल महिलाहरूसँग भेटघाट गरेका छन्।

प्रधान सेनापतिले द्वन्द्वकाल र कर्तव्यपालनका क्रममा वीरगति प्राप्त सकलदर्जाको योगदानको स्मरण गर्दै, एकल महिलाहरूले शोकलाई शक्तिमा बदल्दै समाजमा आफैं र आफ्ना सन्तानलाई स्थापित गराएकोमा प्रशंसा व्यक्त गरे। सोमबार सैनिक मुख्यालय, जंगी अड्डा भद्रकालीमा भएको कार्यक्रममा उनले वीरगति प्राप्त सकलदर्जाका हक हितका लागि नेपाली सेना सदैव प्रयत्नशील रहेको समेत बताए।

सो अवसरमा प्रधान सेनापति सिग्देलले एकल महिलाहरूसँग अन्तर्क्रिया गरेका थिए। साथै, अध्ययनलाई निरन्तरता दिँदै उच्च शिक्षा हासिल गर्ने नारायणी कँडेल र आफ्नो सन्तानलाई उच्च शिक्षा हासिल गर्न प्रेरणा दिँदै सफल अभिभावक बनेकी रिता भण्डारीलाई नगद ४० हजारसहित विशेष सम्मान गरियो। उपस्थित वीरगति प्राप्त सकलदर्जाका परिवारलाई पनि नगद र दोसल्लासहित सम्मान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

वीरगति प्राप्त र कर्तव्यपालनको क्रममा मृत्यु भएका सकलदर्जाका परिवारका लागि पारिवारिक निवृत्तिभरणमा मासिक ५०० रूपैयाँ थप गर्ने घोषणा गरेअनुरूप प्रधानसेनापति सिग्देलले वीरगतितर्फ मासिक ४ हजार र कर्तव्यपालनतर्फ मासिक ३ हजार रूपैयाँ प्रदान गरिँदै आएको जानकारी दिए।

कार्यक्रममा बलाध्यक्ष रथी प्रदीप जंग केसी, रथीहरू र अधिकृतहरूको उपस्थिति थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर