‘भीभीआईपी’ को बिदाइ र स्वागतमा उपस्थिति घटाइयो

अति विशिष्ट व्यक्ति (भीभीआईपी) ले विदेश भ्रमण गर्दा हुने बिदाइ र स्वागतका क्रममा हुने विशिष्ट व्यक्तिको उपस्थिति घटाइएको छ । गृह मन्त्रालयले अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गरेर सो व्यवस्था गरेको हो । संशोधित व्यवस्था अनुसार अब राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा बिदाइका क्रममा प्रतिनिधि सभाका सभामुख तथा राष्ट्रिय सभा अध्यक्ष उपस्थित हुनुपर्ने छैन ।

मौजुद कार्यविधिको दफा ३ संशोधन गरेर सभामुख तथा राष्ट्रिय सभा अध्यक्षको उपस्थिति हटाइएको हो । राज्यका तीन अङ्गमध्ये अहिले पनि न्यायपालिका प्रमुख (प्रधान न्यायाधीश) यस्ता बिदाइ तथा स्वागतमा उपस्थित हुने व्यवस्था छैन । व्यवस्थापिका प्रमुखलाई पनि कार्यविधि संशोधन गरेर सूचीबाट हटाइएको हो । अति विशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थालाई प्रभावकारी र व्यवस्थित बनाउन तथा स्वागत तथा बिदाइ कार्यक्रमलाई भिडभाडरहित बनाउन भन्दै सरकारले कार्यविधि संशोधन गरेको हो । संशोधित कार्यविधि मन्त्रालयले आन्तरिक परिपत्र गरिसकेको छ ।

संशोधित व्यवस्था अनुसार राष्ट्रपति विदेश जाँदा वा फर्कंदा भिभिआइपी कक्षमा अब उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, प्रधान सेनापति, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिव उपस्थित हुनुपर्ने छ । यस्तै दुवै प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक र परराष्ट्रका शिष्टाचार महापाल उपस्थित हुनुपर्ने छ ।

यस्तै उपराष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्कंदा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, प्रधान सेनापति, उपराष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिव र परराष्ट्रका शिष्टाचार महापालको उपस्थिति विशिष्ट कक्षमा हुने छ । बिदाइका क्रममा कारकेडसम्म जाने सुविधा भने प्रधानमन्त्री, परराष्ट्रमन्त्री र उपराष्ट्रपति कार्यालयका सचिवलाई मात्र हुने छ ।

यस्तै प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा तथा फर्किंदा कार्यवाहक प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको उपस्थिति विशिष्ट कक्षमा हुने छ । यस्तै नेपाल सरकारका मुख्यसचिव, प्रधान सेनापतिको पनि उपस्थिति विशिष्ट कक्षमा हुने छ । परराष्ट्र र सञ्चार मन्त्रालयका सचिव, दुवै प्रहरीका प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक पनि विशिष्ट कक्षमा उपस्थित हुनुपर्ने छ ।

शिष्टाचार महापाल र परराष्ट्र मन्त्रालयले आमन्त्रण गरेका विदेशी नियोग प्रमुख पनि प्रधानमन्त्रीको बिदाइका क्रममा उपस्थित हुन सक्ने छन् । मिनी कारकेडसम्म उपस्थित हुने अधिकार भने कार्यवाहक प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, मुख्यसचिव, परराष्ट्र सचिव र शिष्टाचार महापाललाई हुने कार्यविधिमा उल्लेख छ ।गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *