यार्सागुम्बा भन्दै नक्कली यौनजन्य औषधी उत्पादन तथा बिक्री बितरण गर्ने तीन जना पक्राउ

यार्सागुम्बा भन्दै यौनजन्य नक्कली औषधि उत्पादन गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रामेछापको दोरम्बा गाउँपालिका २ का ३४ वर्षीय सुजन गौतम, काभ्रेको नमोबुद्ध नगरपालिका २ का २७ वर्षीय सुजन खड्का र ओखलढुंगाको सिद्धिरचण नगरपालिका ७ का ४२ वर्षीय डिल्लीप्रसाद घिमिरे छन् ।

उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । गौतम र खड्कालाई भक्तपुरको गट्ठाघर र घिमिरेलाई ललितपुरको लुभुबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले बताए ।

उनीहरूले यार्सागुम्बाको नाममा सताबरी, अश्वगन्ध, सिलाजित जस्ता जडिबुटी तयारी पारी बनाइएको यौन क्षमता बढाउने, शक्ति बढाउने स्वास्थ्यमै प्रतिकूल हुने सामानहरू बेचेको पाइएको बोगटीले बताए ।

उनीहरूले हिमाली जडिबुटी भनेर शिखर यार्सा पावर, हिमाली यार्सा प्लस, यार्सा गुम्बा गोल्ड, यार्सा किङ लगायत नाममा सामाजिक सञ्जालमार्फत विज्ञापन गरेर भ्रम सिर्जना गर्दै २ हजार देखि २५ सय प्रति बट्टाको दरले बेचेर ठगी गरेको सीआईबीको दाबी छ ।

यो समूहले गट्ठाघरमा सुरेन्द्र श्रेष्ठको घर भाडामा लिएर स्टोर सञ्चालन गरेको थियो भने लुभुमा बायो फुड्स प्रालिको नाममा फ्याक्ट्री सञ्चालन गरेको थियो ।

उनीहरूबाट औषधिजन्य भनिएका नक्कली सामानहरू पनि ठूलो मात्रामा बरामद गरिएको छ । २६ लाख ७५ हजार बराबरको यार्सा प्लस, ११ लाख ६५ हजार बराबरको यार्सा किङ, २ लाख बराबरको प्रोटेस्ट केयरलगायत सामानहरू बरामद गरेको छ । ६५ लाख भन्दा बढीको सामान बरामद गरिएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर