देशमै रोजगारी सिर्जना गर्न सरकारलाई कांग्रेसको सुझाव
नेपाली कांग्रेसले युवाहरुको भावना बुझेर देशमै रोजगारी सिर्जना गर्न सरकारलाई सुझाव दिएको छ।
कांग्रेस नेता भूपेन्द्रजंग शाहीको नेतृत्वमा मेचीनगरदेखि महेन्द्रनगरसम्म गरेको युवा संकल्प यात्राको निचोड सार्वजनिक गर्दै कांग्रेसले सो सुझाव पेश गरेको हो।
बिहीबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता शाहीले सरकारले छिटो भन्दा छिटो युवालाई रोजगारी सिर्जना हुने कामहरु गर्नुपर्ने माग आम जनता र युवाहरुको रहेको बताए। उनले बेरोजगारीको विकराल अवस्थाका कारण युवाहरु आक्रोशित भएको र युवाहरुको आक्रोशलाई नजरअन्दाज गर्दा भविष्यमा ठूलो विद्रोह पैदा हुनसक्ने चेतावनी दिए।
उनले आफ्नो दलको सरकार रहेपनि आफूहरुले युवा, बेरोजगार पीडितहरुको पक्षमा, सहकारी पीडितको पक्षमा, महंगीको मारमा परेका आम जनताको पक्षमा, किसानको पक्षमा, मजदुरको पक्षमा आवाज उठाउनुपर्ने अवस्था रहेको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं सडकमा चक्का जाम गरेर भाषण गर्नुपर्ने अवस्थाले युवाहरु आक्रोशित हुन स्वभाविक रहेको पुष्टि हुने उनको जिकिर थियो।
उनले भने, ‘हामीले युवाको पक्षमा, बेरोजगार पीडितहरुको पक्षमा, सहकारी पीडितको पक्षमा, महंगीको मारमा परेका आम जनताको पक्षमा, किसानको पक्षमा, मजदुरको पक्षमा हामीले आवाज उठाउनैपर्छ। प्रधानमन्त्री स्वयं आएर सडकमा चक्का जाम गरेर भाषण गर्नुहुन्छ भने हामी युवाहरुले जनताको पक्षमा, युवाको पक्षमा आवाज उठाएर हिँड्ने कुरा त्यो अस्वभाविका होइन। हामी हाम्रो सरकारलाई पनि के आग्रह गर्न चाहन्छौँ भने देशभर हामी हिँड्यौँ। युवाहरुको कुरा सुन्यौँ। बेरोजगारीको यस्तो विकराल अवस्था छ आज देशमा, युवाहरुमा यति ठूलो आक्रोश छ, त्यो सबैलाई थाहा छ। हाम्रो पार्टीका नेताहरु, हाम्रो सरकार यो कुरालाई नजरअन्दाज गरेर खालि सत्तामा मात्रै रमाइरहने हो भने भोलि ठूलो समस्या आउनसक्छ। भोलि युवाको आक्रोश विद्रोहमा परिणत हुनसक्छ। त्यो हुँदा देशको हालत कहाँ पुग्छ। देशले भोलि ठूलो आन्दोलन खेप्नुप¥यो भने। त्यसैले हामी आजै सरकारको आँखा खुलाउन चाहन्छौँ।’
प्रतिक्रिया