नेवार संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका संस्कृतिहरूमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताएका छन् ।
बुधवार २१ औँ राष्ट्रिय ज्यापु दिवसका लागि निमन्त्रण दिन पुगेका नेवारी समुदायहरूसँगको कुराकानीका क्रममा उनले नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएकोले नेवारी संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्ने बताएका हुन् ।
उनले नेपालमा स समुदायपिच्छे नै पृथक् प्रकारको संस्कृति रहेको उल्लेख गरे । उनले नेपालको जस्तो संस्कृति संसारका अन्य कुनैपनि देशमा नरहेको उल्लेख गरे । उनले नेवार संस्कृति, नेवार परिकार र नेवार पहिरनहरूका आफ्नै इतिहास र विशेषता रहेको बताउँदै यसलाई निरन्तरता दिन जरुरी रहेको बताए ।
प्रधानमन्त्री ओलीले भने ‘नेपालका संस्कृतिहरूमध्ये नेवार संस्कृति विकसित संस्कृति हो । यस संस्कृतिले नेपाली संस्कृतिलाई मूल रूपमा प्रतिविम्वित गर्छ । थुप्रै नेपाली संस्कृतिका शाखा उपशाखाहरू छन् । हाम्रा पर्वपिच्छे गीत र नृत्यहरू पनि बेग्लै प्रकारको छ । र दुनियाँमा यस्तो पृथक् प्रकारको संस्कृति अन्यत्र पाइँदैन । यथार्थमा नेवार संस्कृति, नेवार परिकार, नेवार पहिरनहरूका आफ्नै इतिहास र आफ्नै विशेषता छन् । जुन कुरा यहाँहरूले कायम राखी आउनुभएको छ । र मैले विश्वास लिएको छु हामी सबैले मिलेर यस्ता संस्कृतिहरूको संरक्षण गर्नुपर्दछ । यी संस्कृतिहरूको जगेर्ना गर्दै उत्थान गर्नुपर्दछ । नेपालका जोगाउनुपर्ने संस्कृतिहरूमध्ये काठमाडौँ उपत्यकाबाट सुरु भएको नेवार संस्कृति अत्यन्तै उन्नत, सम्पन्न र इतिहास बोकेको संस्कृति हो । ’
उनले नेवार संस्कृति परिमार्जित र परिष्कृत संस्कृति रहेको बताए । नेपालका हरेक संस्कृति र परम्पराको संरक्षणको लागि सबै एकजुट भएर लाग्न उनले आग्रह समेत गरे । ज्यापु दिवस ९योमरी पुन्ही० मंसिर ३० गते मनाइँदै छ ।
प्रतिक्रिया