पर्सामा अपहरणमा संलग्न दुई आरोपित पक्राउ

पर्सा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा संलग्न भनिएका दुईजना आरोपितलाई पक्राउ गरेको छ ।

कटहरिया नगरपालिका-६ रौतहतका शेख सा महमदले आफूलाई अपहरण गरेर फिरौती माग गरेको निवेदनका आधारमा पर्सा प्रहरीले अपहरण कसुरका दुई आरोपितलाई रु ५० हजार फिरौती रकमसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले अपहरित महमदसँग अपहरणकारीले फिरौतीबापतको रकम लिँदै गरेको अवस्थामा वीरगन्ज महानगर–१६ स्थित इनर्वागाउँबाट सन्तोष दास तत्मा र हरिशंकर शर्मालाई पक्राउ गरेको जानकारी दिए ।

गत शुक्रबार महमदको भारतमा अपहरण भएको थियो। महमदले अपहरणकर्तालाई खाली चेक र मोटरसाइकल दिएर फुत्किएका प्रहरीलाई बताएको छ ।

अपहरणकारीले थप पैसा माग्न थालेपछि महमदले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका थिए । सोही सूचनाका आधारमा प्रहरीले अपहरणमा संलग्न भनिएका आरोपितलाई पक्राउ गरेको हो।

अपहरणको अभियोगमा पक्राउ परेका तत्मा र शर्मा दुवैजना वीरगन्ज महानगर–१६ का स्थानीय बासिन्दा हुन् । पर्सा प्रहरीले अपहरणमा प्रयोग भएको मधेस प्रदेश ०३–०२५ प ३९८० नम्बरको पल्सर मोटरसाइकल र बिआर ०५ एयु ९७४५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

प्रहरी नायब उपरीक्षक लम्सालले अपहरणको अभियोग लागेका दुवै जनालाई जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसुरमा सात दिन म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *