राष्ट्रिय सहरी नीतिलाई मूर्त रूप दिन तदारुकताका साथ काम गर्दैछौँ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले सहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन सहरी नीतिलाई मूर्त रूप दिन आवश्यक रहेको बताएका छन् ।
सोमवार विश्व शहर दिवस तथा विश्व सहरी योजना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले राष्ट्रिय सहरी नीतिलाई छिट्टै मन्त्रिपरिषद् बैठकबाट मूर्त रूप दिनुपर्ने भएकाले तदारुकताका साथ काम गरिरहेको बताए । उनले सहर निर्माणका क्रममा स्थानीय सरकार र अध्ययनशील युवाहरूका विचारहरूलाई समावेश गर्न आवश्यक रहेको बताए ।
उनले पुर्खाहरूले छोडेर गएको विरासतलाई सँगसँगै लगेर सहरी विकासका कामहरु गरेर विश्वलाई चिनाउनुपर्ने बताए । मुलुकको अर्थतन्त्र चलायमान हुनेगरी शहर निर्माण गर्नुपर्नेमा उनको जोड थियो ।
मन्त्री सिंहले भने ‘सहरी विकासका योजना बनाउँदा अध्ययनशील युवाहरूबाट नयाँ आइडियाहरू आउने भएको कारणले गर्दा युवाहरूको संलग्नता अपरिहार्य छ । नेपालका सहरहरू कस्ता छन् भन्ने कुरामा समेत हामीले हेक्का राख्नुपर्दछ । संसारलाई देखाउन लायक हाम्रो पुरातात्त्विक कुराहरूले भरिभराउ हाम्रा सहरहरू हुन् । त्यसकारण हाम्रा पुर्खाहरूले छोडेर गएको विरासतलाई राम्रोसँग व्यवस्थित गरेर संसारलाई चिनाउनेतिर हामी लाग्नुपर्दछ । परापूर्व कालदेखि हामीले ओहोरदोहोर गर्दाखेरि आर्थिक क्रियाकलाप गर्ने ठाउँ काष्ठमण्डप हो । आर्थिक क्रियाकलाप चलाएन बनाउनका लागि सहरहरूमा के के गर्न सकिन्छ त्यो चाहिँ हामीले गर्नुपर्दछ । जुन हाम्रो सहरी नीति, २०८१ छ त्यसमा जोड दिएर हामीले अगाडि बढ्नुपर्दछ भन्ने लागेको छ । यसलाई मन्त्रिपरिषद्मा लगेर छिट्टै मूर्त रूप दिनुपर्दछ भन्ने लागेको छ । त्यसपछि सहरी नीतिको आधारमा सहरी ऐन बनाउन सकिन्छ । सहरी नीति पास भइसकेपछि सहरी ऐन बनाउन हामी तदारुकताका साथ काम गर्नेछौँ भन्न चाहन्छु ।’
विश्वमा चलेको शहर विकासको ट्रेन्डलाई पछ्याउँदै सहरीकरणका योजना बन्नुपर्नेमा उनको जोड थियो ।
प्रतिक्रिया