बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन

म्यादीको बेनी नगरपालिका- २ खबराका ६२ वर्षीय चन्द्रबहादुर कार्की विगत ४१ वर्षदेखि व्यावसायिक रूपमा सागसब्जीका बेर्ना उत्पादन गर्दै आएका छन् । उनी अहिले त्यसको बिक्रीमा व्यस्त छन् ।

जिल्लाको पर्यटकीयस्थल लभ्लीहिलसँगै जोडिएको जग्गामा उनले उत्पादन गरेका प्याज, काउली, ब्रोकाउली, बन्दा, गोलभेँडाका बेर्ना खरिद गर्नेको दैनिक भीड लाग्ने गरेको छ । दैनिक ६० जनाभन्दा बढी ग्राहक बेर्ना खरिद गर्न आफ्नो नर्सरीमा आउने गरेका उनले बताए । मङ्सिर पहिलो सातासम्म विरुवा बिक्री गरेर उनले दुई लाखभन्दा बढी आम्दानी गरेको जानकारी दिए ।

‘हालसम्म दुई लाख १० हजार बराबरका बेर्ना बेचेँ । नर्सरीमा विभिन्न जातका बेर्ना हुर्कंदै छन्,’ उनले भने । उनको परिवारका चार सदस्यको इलम पनि बेर्ना उत्पादन भएको छ । बेर्नासँगै उनले सागसब्जी पनि लगाएका छन् । जैविक उत्पादन भएकाले ती खरिद गर्न उनको बारीमा नै ग्राहकको भीड लाग्ने गरेको छ । बेनी बजारमा पनि उहाँका उत्पादन केही घण्टामा उपभोक्ताका घरमा पुगि सक्छन् ।

सागसब्जीका बेर्ना खरिद गर्न कार्कीको नर्सरीमा रत्नेचौर, भकुण्डे, गौश्वारा, बगरफाँट, पुलाचौरदेखि पर्वतको मल्लाज र बागलुङको कुँडुले, बान्द्रेलगायतका स्थानबाट किसान आउने गरेका छन् । उनले एक याममा बेर्ना बेचेर दुई लाखभन्दा बढी आर्जन गर्दै आएको बताए ।

दुई रोपनी जग्गामा उनको नर्सरी फैलिएको छ । ‘बीउ र मलमा ३० हजारदेखि ४० हजारसम्म लगानी हुन्छ । एकै सिजनमा दुई लाखदेखि तीन लाखसम्म आम्दानी गर्न सफल भएको छु’, कार्कीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *