कुपोषित बालबालिकालाई स्वस्थ बनाउँदै रुम्जाटार अस्पताल
ओखलढुंगा जिल्ला अस्पताल रुम्जाटारले कुपोषणबाट ग्रसित दुई सय ५६ बालबालिकालाई स्वस्थ बनाएको छ । कुपोषित बालबालिकाको उपचार एवं स्याहारसुसारका लागि आवासीय पोषण पुनः स्थापना गृह स्थापना गरी अस्पतालले कुपोषित बालबालिकालाई स्वस्थ बनाएको हो ।
जिल्ला अस्पतालअन्तर्गत सञ्चालित पोषण पुनः स्थापना गृहबाट आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म दुई सय ५६ बालबालिकालाई पोषणयुक्त खाना र आवश्यक औषधोपचार तथा स्याहार सेवा दिइएको छ । बालबालिकालाई कुपोषणका कारण हुने बौद्धिक तथा शारीरिक अपांगताबाट बचाउन तथा कडा रोग लाग्नबाट जोगाउन पोषण पुनः स्थापना गृह सञ्चालन गरी सेवा प्रदान गर्दै आएको अस्पताल प्रमुख डा. साजन दुवालले बताए ।
बालबालिकामा कुपोषणको समस्या देखिए बेलैमा उपचार गराउन अभिभावकलाई डा. दुवालको सुझाव छ । आवासीय पोषण पुनः स्थापना गृहमा कुपोषणले ग्रस्त भएका जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई राखेर आवश्यक निःशुल्क स्वास्थ्योपचारका साथै सन्तुलित आहारको व्यवस्था मिलाइएको छ । बालबालिकाको कुपोषणको उपचार तथा व्यवस्थापन, बालबालिकाको उचाइ र उमेरअनुसारको तौल पुर्याउन आवश्यक उपचारात्मक कार्य गर्न, बालबालिकाको हेरचाह गर्ने अभिभावकलाई समेत पोषणसम्बन्धी ज्ञान तथा सीप प्रदान गर्ने गरिन्छ ।
यहाँ ओखलढुंगासहित छिमेकी जिल्ला खोटाङ, सोलुखुम्बुलगायत जिल्लाका नागरिक सेवा लिने आउने गरेका छन्, डा. दुवालले भने । पोषण पुनः स्थापना गृहमा कुपोषित बालबालिकाको हेरचाहका लागि उनीहरूका एक अभिभावकलाई राख्ने व्यवस्था छ ।
यहाँ राखिएका कुपोषित बालबालिकालाई उनीहरूको अवस्था हेरेर दैनिक आठदेखि १२ पटकसम्म आहारा खुवाउने गरिएको छ । केन्द्रबाट आव २०७७/७८ मा ३६, आव २०७८/७९ मा ७४, आव २०७९/८० मा ८२ र आव २०८०/८१ मा ५२ बालबालिकालाई सेवा प्रदान गरिएको थियो । चालु आव २०८१/८२ को चार महिनामा १२ बालबालिकाले सेवा लिएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया