राष्ट्रिय स्तरमा छलफल नगरी बीआरआई सम्झौतामा हस्ताक्षर गर्नु हुँदैन : विमलेन्द्र निधी

नेपाल कांग्रेसका नेता एवं सांसद विमलेन्द्र निधीले राष्ट्रिय स्तरमा छलफल नगरी बीआरआई सम्झौतामा हस्ताक्षर गर्न नहुने बताएका छन् ।

शुक्रबार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा नेता निधीले हतारमा सम्झौता गरेर पछुताउनुभन्दा विस्तृत रुपमा छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्ने बताएका हुन् ।

उनले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ बिआरआई चिनियाँ नीति रहेको र नेपालले आसन्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा के गर्छ भन्ने विषय चासोका साथ हेरिएको उल्लेख गरे । उनले नेपाली काँग्रेसले चीनबाट बिआरआई प्रोजेक्टअन्तर्गत लिने कुनैपनि विकासका कुराहरुमा अनुदान मात्रै लिने नीति अंगालेको बताए ।

बीआरआईअन्तर्गत ऋण लिन आफूहरुले नचाहेको उनले बताएका हुन् । बिआरआई प्रोजेक्टमा व्यापक, विस्तृत रुपमा राष्ट्रियस्तरमा छलफल हुनु जरुरी रहेको उनले उल्लेख गरे ।

‘बीआरआई चिनियाँ पोलिसी हो । त्योअन्तर्गत हाम्रो स्ट्याण्ड चर्चाको विषय छ । प्रधानमन्त्री ओलीको भ्रमणको विषयमा केके कुरा सही गर्ने ? केके कुरा सम्झौताहरु गर्ने भन्ने विषयमा । नेपाली काँग्रेसको शुरुदेखि नै आधिकारिक विषय के छ भने चीनबाट हामीले बिआरआई प्रोजेक्टअन्तर्गत लिने कुनैपनि विकासका कुराहरुमा अनुदान मात्रै लिन्छौँ । लोनमा हामी जाँदैनौँ ।’ उनले भने,’मुल विषय त्यही हो । हाम्रो तर्फबाट शेरबहादुरजीले र पार्टीले प्रधानमन्त्रीज्युलाई भनिसक्नुभएको छ । चीन जाँदाखेरी अनुदान बाहेक लोनमा सही नगर्ने भनेर । बिआरआई प्रोजेक्टको बारेमा हाम्रो धारणा के हो भने यसको बारेमा व्यापक, विस्तृत छलफल हुनुपर्छ, राष्ट्रियस्तरमा छलफल हुनुपर्छ । त्यतिमात्रै होइन, म त अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति छु । बिआरआई प्रोजेक्ट नेपालको हितमा छ की छैन ? बिआरआई पोलिसीअन्तर्गत केके विषय हो, त्यसको बारेमा व्यापक छलफल हुनुपर्छ ।’

नेता निधीले बीआरआई प्रोजेक्ट नेपालको हितमा छ वा छैन ? बिआरआई पोलिसीअन्तर्गत केके विषय हो भन्नेबारेमा व्यापक छलफल जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर