एयरलाइन्स कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन मन्त्री पाण्डेको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् ।
बुधवार मन्त्रालयमा एयरलाइन्स कम्पनीका प्रतिनिधिहरूसँग छलफल गर्दै मन्त्री पाण्डेले बिहीबार दिउँसो ४ बजेभित्र भाडादर उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
एयरलाइसका प्रतिनिधि र क्यानबीच भएको पाँच बुँदे सम्झौता झारो टार्ने काम गर्दै अचाक्ली भाडा लिएको भन्दै मन्त्री पाण्डेले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई सचेत गराए । उनले राज्य र नागरिककाप्रति एयरलाइन्सहरू दायित्वच्युत भएर झारो टार्ने काम गरिरहेको बताए ।
उनले भने ‘नागरिकमाथि निकै ठूलो ज्यादती भयो, शोषण भयो । धूर्त व्यापारीको जस्तो काम एयरलाइन्सहरूले गर्न थाले भन्ने हामीलाई अनुभूति भएको छ । राज्यलाई घाँस हालेजस्तो काम गर्नुभएको रहेछ तपाईँहरूले । राज्य र नागरिककाप्रति एयरलाइन्सहरू दायित्वच्युत भएर झारो टारेको काम रहेछ । पछिल्लो समयमा कुनै पनि सुधारको काम देखिएन । आज जसरी तपाईँहरू गैरजिम्मेवार ढंगले प्रस्तुत हुनुभएको छ । तपाईँहरू आफैँ पनि एकचोटि बस्न आग्रह गर्दछु । कतिपयले आफ्नो एयरलाइन्सले टिकेट मूल्य कति लिएको छ भन्ने जानकारी समेत नलिएका प्रतिनिधिहरू पनि आउनुभएको छ । विदेशका एयरलाइन्सहरूको व्यवस्थापन गर्ने भएकोले आफ्नो दानापानी पनि उतैबाट चल्ने जस्तो गैरजिम्मेवार प्रस्तुतिबाट म निकै दुःखित भएको छु । यसको समीक्षाका लागि तपाईँहरू एक्लाएक्लै बस्न आग्रह गर्दछु । भोलि चार बजेसम्म समीक्षा गरेर भाडादर उपलब्ध गराउनुहोला ।’
मन्त्री पाण्डेले रन वे र ट्याक्सी वेबीच कनेक्टिङ वे बनाउनुपर्ने भएको कारण १० घण्टा त्रिभुवन विमानस्थल बन्द गर्नुपरेको उनले स्पष्ट पारे ।
प्रतिक्रिया