कम्युनिष्ट आन्दोलनको गम्भिर समिक्षा गर्ने बेला आएको छ : प्रकाण्ड
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले मुलुकको वर्तमान संसदीय व्यवस्थाले देशलाई गम्भिर परिस्थितिको भुमरिमा धकेलेको बताएका छन् ।
बुधवार पार्टीको ११ औँ पुनर्गठन दिवसको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विश्वको सबैभन्दा लोकतान्त्रिक संविधानको भनि प्रचार गरिएको संविधान निर्माणपछि भएका निर्वाचनले देशमा आर्थिक र सामाजिक संकटतर्फ धकेलेको टिप्पणी गरेका हुन् ।
उनले नेपालमा कम्युनिष्ट आन्दोलन शुरु भएको ७५ वर्ष पूरा भएपनि कम्युनिष्ट आन्दोलनका उद्देश्यहरु अझै सफल नभएको बताए । उनले कम्युनिष्ट विचार भनेको दुनियाँको सबैभन्दा वैज्ञानिक र अग्रगामी विचार भएपनि नेपालमा यसले सार्थकता नपाएको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलनको इतिहासको गम्भिर समिक्षा गर्ने बेला भएको बताए । नेपालको सामन्ती, दलाल पूँजीवादी वर्गले नेपाली जनतामाथि राज्यसत्ताद्वारा शासन गरिरहेको उल्लेख गर्दै उहाँले आफूहरुले त्यसका विरुद्ध विगत १० वर्षदेखि निरन्तर संघर्ष गरिरहेको बताए ।
उनले भने,‘नेपालमा कम्युनिष्ट आनदोलनको कोणबाट हेर्नुभयो आज नेपालमा ७५ वर्ष पूरा भएका छन् । तर कम्युनिष्ट आन्दोलनका उद्देश्यहरु अझै सफल भएका छैनन् । यसभित्र सकारात्मक र नकारात्मक दुवै पक्षहरु छन् । तर हामीले कम्युनिष्ट आन्दोलनको गम्भिर समिक्षा गर्नुपर्ने बेला आएको छ । ७५ वर्षसम्म नेपालमा कम्युनिष्ट आन्दोलन किन सार्थक बन्न सकेन ? किन नेपाली जनताले मक्ति पाउन सकेनन् ? आफ्नो राज्य र साशन व्यवस्था स्थापना गरेर स्वाधिन बनाउन सकेन ? कम्युनिष्ट विचार भनेको दुनियाको सबैभन्दा बैज्ञानिक र अग्रगामी विचार हो । कम्युनिष्ट विचार वैज्ञानिक हुँदाहुँदै पनि हामी अझै संघर्ष गरिरहेका छौं । विगत १० वर्षलाई हेर्ने हो भने नेपाल कम्युनिष्ट पार्टी र यसले शुरु गरेको एकीकृत जनक्रान्ति यो देशको विकल्प बनेको छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र नामको दलाल संसदीय व्यवस्था स्थापना गरेको धेरै समय भएको छैन । यस संसदीय व्यवस्थाले देशको टाट उल्ट्यो र देशलाई पनि गम्भिर परिस्थितिको भुमरिमा धकेलिदिएको छ । यसलाई संघीय लोकतान्त्रि गणतन्त्रात्मक देश भनिएको छ । संविधानको दिशा निर्देशमा यो राज्य निर्माण भएको छ र चलिरहेको छ । यसलाई विश्वको सबैभन्दा लोकतान्त्रिक संविधान जामा लगाइएको छ । तर पछिल्लो दिनमा कम्युनिष्ट पार्टीले जनतामा ठूलो आशा ल्याएको छ ।’
उनले पत्रकार सम्मेलनमा पार्टीको ११ औं पुनर्गठन दिवसका अवसरलाई विभिन्न उत्सव एवं कार्यक्रम गरी मनाउने बताए ।
प्रतिक्रिया