दुर्गा प्रसाईंमाथि कीर्ते र साइबर अपराधमा अनुसन्धान हुने
साइबर अपराध मुद्दामा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि कागजात कीर्ते र मानहानी मुद्दा समेत चल्ने भएको छ । तत्काल साइबर अपराधसम्बन्धी मुद्दामा म्याद थप गरिए पनि अनुसन्धानका क्रममा प्रसाइले गरेका अन्य कसुर समेत आकर्षित हुने प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का प्रमुख एआइजी दीपक थापाले जनाए ।
‘कीर्ते र मानहानीको कुरा पनि आएको छ, त्यसमा पनि मुद्दा चल्छ’, उनले भने । एक व्यक्तिलाई एकै पटक एकभन्दा बढी मुद्दा चलाउने कानुनी सुविधा नभएका कारण एउटा मुद्दाको अनुसन्धानपछि अर्को मुद्दा चलाउनु पर्ने भएको थापाले बताएका छन् । ‘यी बाहेक उनका विषय अरु पनि केही कुरा आएमा अनुसन्धान हुन्छ’, उनले भने । प्रसाईंविरुद्ध प्रहरी प्रतिवेदनका आधार मुद्दा चलाइन लागेको हो ।
उनीविरूद्ध कीर्ते कसुरमा पनि अनुसन्धान हुने गरी अदालतको अनुमति लिने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रसाईँले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाइएका सामग्री सामाजिक सञ्जालमा फैलाएको आरोप छ ।
प्रधानमन्त्रीका हस्ताक्षर नै कीर्ते गरेको प्रहरीको भनाइ छ । मेडिकल व्यवसायी प्रसाईं यसअघि असोज ६ गते पक्राउ परेका थिए । रास्वपाकी एक केन्द्रीय सदस्यले दिएको जाहेरीअनुसार उनीविरूद्ध साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दामा उनी एक लाख धरौटी बुझाएर छुटेका थिए ।
प्रतिक्रिया