विराटनगर किङ्सको ब्राण्ड एम्बासडरमा अभिनेता दयाहाङ राई

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली विराटनगर किङ्सले अभिनेता दयाहाङ राईलाई आफ्नो ब्राण्ड एम्बासडर घोषणा गरेको छ ।

विराटनगर किङ्सले आईतवार पत्रकार सम्मेलनमार्फत नायक दयाहाङलाई ब्राण्ड एम्बासडर घोषणा गरेको हो । उक्त कार्यक्रममा विराटनगरका मालिक वैङ्कटेस मुन्द्रा र नायक दायहाङले सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त सम्झौता एक वर्षको हुनेछ ।

ग्लोवल स्टारको छवि बनाएका सन्दीप लामिछाने विराटनगर किङ्सका मार्की खेलाडी हुन् । तर उनी ब्राण्ड एम्बासडर घोषणा कार्यक्रममा उपस्थित थिएनन् ।

सामाजिक सञ्जालमा लाखौंमा फलोअर्स रहेका सन्दीपले विराटनगरका कुनैपनि गतिविधि शेयर गरिरहेका छैनन् ।

उनी र विराटनगर किङ्सबीच पारिश्रमिकका विषयलाई लिएर असमझदारी रहेको चर्चा पनि चलिरहेको थियो ।

आईतवार आफ्नो फ्रेन्चाइज टोलीको औपचारिक कायक्रममा पनि सन्दीप उपस्थित नभएपछि प्रश्न उठे ।

तर विराटनगरका मालिक मुन्द्राले आफ्नो मार्की सन्दीप बाहिर रहेकाले कार्यक्रममा उपस्थित हुन नसकेको र केही दिनपछिका कार्यक्रममा आउने बताए ।

साथै मुन्द्राले कोशीमा क्रिकेटको विकासमा सघाउ गर्ने उद्देश्यले विरानगर किंग्सले काम गरिरहेको बताए ।

उनले कोशीको पाँच जिल्लामा ट्यालेन्ट हन्ट गरिएको र निकट भविष्यमा एकेडेमी पनि सञ्चालनमा ल्याउने उल्लेख गरे ।

सो अवसरमा अभिनेता दयाहाङ राईले आफ्नै क्षेत्रसमेत रहेको विराटनगरसँग जोडिन पाउँदा धेरै खुशी रहेको उल्लेख गर्दै खेलले धैर्यता र अनुशासनमा रहन सिकाउने भएकाले आफूले नियमित रूपमा पछ्याउँदै आएको बताए ।

साथै उनले देशका उन्नति र विकास लागि कला र खेल क्षेत्रमा लगानी लगानी गर्न आवश्यक रहेको औंल्याए ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्रिकेटप्रति चासो र समर्थन गर्दै आउनुभएका अभिनेता दयाहाङ राईलाई विराटनगर किङ्सले आफ्नो टोलीमा जोड्दा क्यानका लागि एक जित सरह रहेको बताए ।

विराटनगरले यसअघि न्युजिल्याण्डका मार्टिन गप्टिल, ओमानका अकिब इलियास, वेस्ट इण्डिजका निकोलस किर्तन र स्कटल्याण्ड क्रिस सोललाई अनुवन्ध गरेको छ । आगामी मंसिर १५ गतेदेखि पुस ६ सम्म हुने एनपिएलमा आठ फ्रेन्चाइज टोलीले प्रतिष्पर्धा गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर