शंकर पोखरेलको दाबी- जनताले प्रमुख दलहरूबाट नै मुलुक सुधारको अपेक्षा गरेका छन्
सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनताले काँग्रेस–एमालेप्रति नै विश्वास र भरोसा गरेको बताएका छन् ।
शुक्रवार पार्टी मुख्यालय च्यासलमा पार्टीको तर्फबाट आगामी मंसिर ७ गते काठमाडौँमा आयोजना हुने जागरण सभा कार्यक्रमको जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन् ।
महासचिव पोखरेलले प्रमुख दलहरूप्रति जनता असन्तुष्ट छन् भन्नेकुरा गलत हो भन्ने सन्देश दिन पनि पार्टीले सो जागरण अभियान सञ्चालन गर्न लागेको स्पष्ट पारे । नेपाली जनताले प्रमुख दलहरूबाट नै मुलुकमा सुधारको अपेक्षा गरेको महासचिव पोखरेलको जिकिर थियो । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउमा सो पार्टीले आन्दोलन गर्नु उचित नभएको पनि दोहोर्याए ।
महासचिव पोखरेलले भने ‘ललितपुर, भक्तपुर र काठमाडौं जिल्ला कमिर्टीको अगुवाइमा जागरण अभियान कार्यक्रम हुँदैछ । उपत्यकामा नै आयोजना हुने कार्यक्रमका माध्यमबाट हामी यस्तो सन्देश दिन चाहन्छौं कि जनता असन्तुष्टि छन् भन्ने खालको कुरा जुन खडा गर्न खोजिएको छ । त्यो होइन, जनता प्रमुख दलहरूप्रति नै विश्वास र भरोसा गर्दछन् । र, उनीहरूबाटै सुधारको अपेक्षा गर्दछन् भन्ने सन्देश दिनु पनि जरुरी छ । त्यो हिसाबले हामीले जुन सभाको आयोजना गर्न खोजेका छौं । जागरण सभा, त्यसको औचित्य त्यसले पुष्टि गर्दछ भन्ने मलाई लाग्दछ । ’
महासचिव पोखरेलले सरकारलाई काम गर्नका लागि उचित वातावरण बनाउनका लागि सत्तारुढ काँग्रेस–एमालेले संघ, प्रदेश र स्थानीय तहमा संयन्त्र बनाउने काम गरेको पनि बताए । सो संयन्त्रले सरकारको काममाथि हस्तक्षेप नगर्ने उनको स्पष्टीकरण थियो ।
प्रतिक्रिया