९ घण्टामा पनि सकिएन रविको बयान भोली फेरि हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको रुपन्देहीमा दोस्रो दिनको बयान सकिएको छ ।आज (बुधबार) बिहान साढे १० बजेदेखि साँझ ७ बजेसम्म बयान लिइएको छ । दोस्रो दिन आज लामिछानेलाई ६० प्रश्न सोधिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

भोलि (बिहीबार) पनि  बयान लिइने प्रहरीले जानकारी दिएको छ । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता तथा प्रहरी अधिकारीहरूको उपस्थितिमा बयान लिइएको थियो । बयान सकिएपछि गए राति लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको थियो भने बुधबार पनि सोही कक्षमा राखिने प्रहरीले जनाएको छ ।

बयानपछि लामिछानेलाई कडा सुरक्षाकाबीच जिल्ला प्रहरी कार्यालयमा लगिएको छ । लामिछानेलाई प्रहरीको ठूलो घेराबाट सरकारी वकिल कार्यालय प्रवेश गराइएको थियो । मंगलबार बयानपछि कार्यालयबाट बाहिरिने क्रममा ‘खोरमा थुनिंदैमा बाघ स्याल हुँदैन’ भन्ने प्रतिक्रिया दिएपछि प्रहरीले बुधबार उनलाइ थप घेरा हालेर सरकारी वकिल कार्यालय प्रवेश गराएको हो ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अभियोगमा बयानमा लामिछानेले इन्कारी वयान दिएका छन् । लामिछानेले आफू सदस्यनै नरहेको सहकारीबाट आफ्नो नाममा ऋण प्रवाह भएको बताउँदै यसबारेमा कुनै जानकारी नरहेको बताएको स्रोतले बताएको छ ।

रविको बयान चल्दै गर्दा सहकारीपीडित र रास्वपाको विरोध जारी राखेका थिए । पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकमसमेत हिनामिनामा संलग्न रहेको आरोप छ । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लगिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिवेदनअनुसार, बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ । लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

२ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक २ कात्तिकमा पाँच दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक सात र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो । लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । प्रहरीले सहकारी ठगी मुद्दामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धीकरण मुद्दामा बढीमा ९० दिनसम्म मात्र हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *