सांसदहरूलाई सहकारी सचिवको प्रश्न- सहकारीको सबै बचत सरकारले फिर्ता गर्ने हो ?
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सहकारीमा राखिएका सबै बचत सरकारले फिर्ता गर्ने हो ? भनी प्रश्न गरेका छन् ।
बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले सांसदहरूमाझ सो प्रश्न गरेका हुन् ।
सचिव पोखरेलले सो प्रश्न बौद्धिक बहसको विषय भएको उल्लेख गर्दै त्यसको छिनोफानो गरेर अघि बढ्दा उपयुक्त हुने धारणा समेत राखे । उनले संकटग्रस्त सहकारीका बचतकर्ताहरूको बचत रकम फिर्ता गर्ने कार्यलाई सरकारले प्रचलित कानुन बमोजिम अघि बढाएको पनि स्मरण गराए । सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्ने विषयलाई सरकारले जिम्मेवारीपूर्वक अघि बढाएको उल्लेख गर्दै सचिव पोखरेलले त्यसलाई फरकफारक गर्ने विषयमा सम्बन्धित निकायहरूले क्रियाशील भएर काम गरिरहेको बताए ।
उनले सरकारले संकटउन्मुख सहकारीहरूको अवस्था बुझने कामलाई पनि अघि बढाएको बताए । सरकारले सहकारीका समस्या ल्याउनेहरू उपर कानुनी कारबाही गरिरहेको बताए ।
सचिव पोखरेलले भने ‘बचतकर्ताको बचत सुरक्षामा प्रचलित कानुनको अधीनमा रही सम्पूर्ण निक्षेपकर्ताहरुको बचत सुरक्षा गर्ने सन्दर्भमा सरकारले अत्यन्तै गम्भीर भएर काम गरिराखेको छ । चाहे ती साना हुन्, चाहे ती ठूला हुन् । सानाठूला नभनी हामीले कानूनसम्मत रुपमा चलेका, राखिएका, गरिएका कामहरूमा प्रचलित कानुनको अधीनमा रहेर गर्ने कुरामा सरकार फरक मत राख्दैन, अत्यन्तै जिम्मेवार भएर सरकारले काम गरेको छ । तर कहिलेकाहीँ बुझाई के छ भने सहकारीमा राखिएका सबै बचत सरकारले फिर्ता दिने हो त ? यो कुरा यहाँहरू बौद्धिक सर्कलको बीचमा बहसको विषय छ । मैले यहाँहरूलाई छोडे । यसमा मैले धेरै प्रवेश गरिन । तर सरकार यस विषयमा जिम्मेवारीका साथ लागेको छ । सरकार सबै संस्थाहरु यस विषयमा क्रियाशील छन् । यो सन्दर्भमा अहिले सरकारले तीन वटा क्षेत्रमा काम गरिरहेको छ । एउटा, कानुनी कारबाही । यहाँहरूले सुन्नुभएको छ । आम मिडियामा आई रहेका विषयहरू हुन् । हामीले कारबाहीको क्रममा कतिपय पदाधिकारीहरू हिरासतमा हुनुहुन्छ । कतिपय साधारण तारेकमा बाहिर बस्नुभएको होला । कतिपय फरार हुनुहुन्छ । त्यो कुरा अहिले मैले तथ्याङ्क भनिरहन आवश्यक परेन । तर सँगसँगै हामीले के गरेका छौ भने कानुन परिमार्जन, संस्थागत प्रबन्ध र कानुन कार्यान्वयनलाई पनि सरकारले सँगसँगै अघि लगेको छ ।’
सचिव पोखरेलले सरकारले सहकारी क्षेत्रको नियमनका लागि छुट्टै प्राधिकरण बनाउने कामलाई अघि बढाएको पनि बताए ।
प्रतिक्रिया