मेरो इमान र निष्ठामाथि धावा बोल्नेविरुद्ध कानुनी लडाइँ लड्छु : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले आफ्नो इमान र निष्ठामाथि धावा बोल्ने काम भएको भन्दै कानुनी लडाइँ लड्ने बताएका छन् ।

नेपाली काँग्रेसका सहमहामन्त्रीसमेत रहेका पर्यटनमन्त्री पाण्डेमाथि काँग्रेसकै सांसद राजैन्द्र बजगाईँले करोडौँ घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका थिए । सोहीबारेमा स्पष्टीकरण दिँदै मन्त्री पाण्डेले केही मानिसहरूले पर्यटन क्षेत्रबाट नाजायज लाभ लिनका लागि आफूमाथि आरोप लगाएको बताए ।

उनले नाजायज लाभबाट आफ्नो व्यक्तित्व विकास गर्न खोज्नेहरूले आरोप लगाएको बताए । इमान, निष्ठा, इज्जत र प्रतिष्ठा नभएकाहरूले आफ्नो इमानदार प्रयासलाई मान मर्दन गर्नेगरी मनोबल गिराउन आरोप लगाएको बताए । पर्यटन क्षेत्रलाई फेरि हिलो पानीमा माछा मार्ने क्षेत्रकै रुपमा राखिराख्न र त्यसमा आफू सफल हुन तथा नाजायज फाइदा लिन यस किसिमको आरोप लगाइएको बताए । यसबारेमा आफूले सरकार, पार्टीलाई पनि जानकारी गराउने र कानुनी लडाइँ पनि लड्ने बताए ।

इमानदार मान्छेहरूले नैतिकताको बाटोबाटै सङ्घर्ष र प्रतिवाद गर्नसक्ने उनको भनाइ छ । सरकार र पार्टीलाई केही नराम्रो गरेको छ भन्ने लागेको भए आफूमाथि छानबिन गर्न पनि आग्रह गरे । आफूबाट जानेर÷नजानेर कुनैपनि खालको कमजोरी भएको भए सरकार पार्टीबाट बाहिरिने घोषणा गरे । मन्त्री पाण्डेले आकाशलाई सुरक्षित गर्न, जिडिपी बढाउन र पर्यटन प्रवर्द्धनका लागि आफूले सक्दो पहल गरिरहेको बताए ।

मन्त्री पाण्डेले आफू स्वच्छ राजनीतिक चरित्रबाट अहिलेसम्म अघि बढिरहेको बताए । उनले गलत कामहरु हुन नदिने र राम्रा कामहरु रोक्न नहुने पक्षमा आफू रहेको बताए । उनले देशले अहिले भोग्नुपरेको सुशासनको समस्या समाधानका लागि वर्तमान सरकार र आफूले काम गरिरहेको बताए । उनले आफूसँग निष्ठा र इमान बाहेक अन्य राजनीतिक सम्पत्ति नरहेको बताए । उनले निष्ठाको तागतलाई बलियो बनाउने ध्येयका साथ आफूले काम गरिरहेको बताए ।

मन्त्री पाण्डेले देशलाई विकास र समृद्धितिर अघि बढाउन खोज्दा मान मर्दन गर्नेहरू सलबलाएको बताए । उनले देशलाई, मन्त्रालयलाई र पर्यटन क्षेत्रलाई घाटा पुर्याउने कुनैपनि आवरणका बिचौलियाहरूबाट सुरक्षित राख्ने जिम्मेवारी आफूलाई रहेको बताए ।

यस्तो छ संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेको भनाइ जस्ताको तस्तै :

म पनि आश्चर्यचकित भएको छु । नेपाली काँग्रेस पार्टीबाटै निर्वाचित सांसदहरूले म नेपाली काँग्रेस पार्टीकै पदाधिकारी, सहमहामन्त्री पनि हुँ । मन्त्रीपरिषद्मा छु । यो मन्त्रीपरिषद्मा आउनुसँगै मेरो कमिटमेण्ट के छ भने स्वच्छ कामहरु, गर्नुपर्ने कामहरु, नियमित कामहरु, कानुनसम्मत कामहरु मन्त्रालय र मन्त्रीहरूको तहबाट रोकिनु हुन्न । गलत कामहरु कदापि अघि बढ्न दिनुहुन्न भन्नेकुरामा कमिटमेण्ट छ । मेरो कमिटमेण्ट के पनि हो भने म जुन स्वच्छ राजनीतिक चरित्रबाट यहाँ आइपुगेको छु, त्यत्तिकै स्वच्छ चरित्र लिएर यो मन्त्रालयबाट बाहिर निस्किऔँ, बहिर्गमन हौँ भन्ने दोस्रो कमिटमेण्ट छ । देशले अहिले भोग्नुपरेको एउटा समस्या भनेको सुशासनको समस्या हो । त्यो सुशासनलाई आफ्नो मन्त्रालय मातहत कसरी स्थापित गर्ने ? भ्रष्टाचारलाई कसरी न्यूनीकरण गर्ने ? भन्ने सन्दर्भमा पनि म बढो सचेततापूर्वक प्रतिबद्ध छु ।

मेरो राजनीतिक यात्रा मलाई जतिले चिन्नुहुन्छ, इमान र निष्ठामा आधारित छ । मेरो राजनीतिको पुँजी कसैले सोध्यो भने मसँग घर छैन, गाडी छैन । कुनै आर्थिक प्रबन्ध पनि छैन । म निष्ठा र इमानको बलमा राजनीति गरिरहेको छु र म यहाँसम्म आइपुगेको छु । त्यो मेरो देशभरका शुभचिन्तकहरूको मेराप्रतिको सद्भाव, मेरा जिल्लावासी, मतदाताहरूको मेराप्रतिको सद्भाव, मेरो शक्ति, मेरो राजनीतिक तागत मैले त्यही नै ठानेको छु । आगामी दिनमा पनि मैले मेरो यो तागतलाई सुदृढ बनाउने, बलियो बनाउने, इमान र निष्ठाको तागतलाई बलियो बनाउने ध्येयका साथ काम गरिरहेको छु । पार्टीबाट निर्वाचित एक जना सांसदले त्यो तहमा ओर्लिएर टिप्पणी गर्ने कुराबाट म आश्चर्यचकित भएको छु । इमान र निष्ठा जुन मेरो मूल पुँजी हो, त्यसमाथि धावा बोल्ने कुराले मेरो भावनामाथि गम्भीर चोट पुगेको छ । यसका निम्ति मैले के गर्नुपर्छ ? मैले साँच्ची नै गल्ती, कमी, कमजोरी गरेको छु भने मन्त्री मात्रै होइन, पार्टीको सहमहामन्त्री र सांसदको रुपमा नेपाली काँग्रेस जस्तो गौरवशाली पार्टीको सदस्यको रुपमा म बस्न मिल्दैन । त्यसमा म स्पष्ट छु । त्यतिमात्रै होइन, गठबन्धन सरकार एउटा प्रतिवद्धताकासाथ, एउटा कमिटमेण्टका साथ सरकारमा छ ।

सम्माननीय प्रधानमन्त्री लगायत मन्त्रीपरिषद्को एउटा संकल्प छ, हामी सुशासन स्थापित गरौँ, राजनीतिक स्थिरता दिऔँ, देशलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाऔँ भन्ने सरकारको र सम्माननीय प्रधानमन्त्रीज्यूको हामी सबैको कमिटमेण्ट छ । यदि उहाँले भनेजस्तो सत्य हो भने त्यो कमिटमेण्टलाई धब्बा लाग्नेगरी, त्यो कमिटमेण्ट कमजोर हुनेगरी मैले मन्त्रीमा रही रहन मिल्दैन । पार्टीको ठाउँबाट पार्टीको सदस्य रही रहन पनि मिल्दैन, सरकारको ठाउँबाट मन्त्री रही रहन पनि मिल्दैन । त्यसैले मैले सरकारको प्रधानमन्त्री र मन्त्रीपरिषद्लाई पनि भन्नुपर्नेछ, मेरो पार्टीलाई पनि भन्नुपर्नेछ, मबाट यदि कुनै किञ्चित गल्ती कमजोरी भएको छ भने मलाई यहाँ बस्ने छुट छैन । पार्टीले र सरकारले मलाई निकाल्नु पर्दैन, म आफैँ यहाँबाट निस्किन जुनसुकै बेलामा कुनै प्रकारको पदकाप्रति आशक्ति नराखीकन तम्तयार छु । होइन ममाथि निराधार आरोप लगाउने हो भने यो ममाथिको मात्रै आरोप होइन, इमानदारितापूर्वक राजनीति गरौँ, इमानदारितापूर्वक देशको सेवा गरौँ, देशलाई विकास र समृद्धितिर अगाडि लिएर जाऔँ, भन्ने कमिटमेण्ट भएका निष्ठावान्, इमानदार मान्छेहरूको मान मर्दन गर्ने र उनीहरूको मनोबल गिराउने काम भएको देख्छु मैले ।

हाम्रो मन्त्रालयमा म आउँदाआउँदै के अनुभूति भएको हो भने धेरै मानिसहरु स्वार्थद्वारा निर्देशित छन् । स्वार्थ समूहहरू सक्रिय छन् । बिचौलियाहरू सक्रिय छन् । ती बिचौलियाहरू, स्वार्थ समूहका मतियारहरू जुनसुकै आवरणमा हुन्, देशलाई घाटा पुर्याउने गरी, मन्त्रालयलाई घाटा पुर्याउने गरी, पर्यटन क्षेत्रलाई घाटा पुर्याउने गरी, पर्यटन क्षेत्रको विकास र एउटा सकारात्मक गतिलाई घाटा पुयाउने गरी जस्तोसुकै मै हुँ भन्ने मान्छे आयो भने पनि उसको इच्छा म पूरा गर्न सक्दिन । मैले निजी क्षेत्रलाई बढो हार्दिकताका साथ तपाईँहरू अघि लागिइदिनुस्, मन्त्रालय सरकार तपाईँहरूको पछिपछि छ, पर्यटन क्षेत्रको विकास गरौँ, पर्यटन क्षेत्रबाट अर्थतन्त्र बलियो बनाऔँ, पर्यटन क्षेत्रले स्वरोजगारी सिर्जना गरौँ, नेपाल विविधतापूर्ण संस्कृति र विविधतापूर्ण प्रकृतिले भरिएको देश हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *