जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हो : डिपी अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल ‘डीपी’ ले रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति परिवर्तन नहुने बताएका छन् । पूर्व गृहमन्त्री समेत रहेका सभापति लामिछाने पक्राउको विरोधमा आयोजित कार्यक्रममा बोल्दै उपसभापति अर्यालले यस्तो बताएका हुन् ।

उपसभापति अर्यालले भने, ‘रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति उहाँ नै हो । यसमा कार्यवाहक सभापति कसले पाउँछ, कसले पाउँदैन त्यो गौण कुरा हो । उहाँको सभापति पद निरन्तर रहन्छ । उहाँ जहाँ बस्नु हुन्छ, उहाँ हिरासतमा रहनुहोला, उहाँ जेलमा रहनु होला, रास्वपाको सभापति रवि लामिछाने नै हो । उहाँले नै यो पार्टीको नेतृत्व गर्नु हुनेछ । संसारमा यस्ता इतिहास धेरै छन्, जसले जेलमै बसेर पार्टी सञ्चालन गरेका छन् । हामी विचलित हुनु हुँदैन ।’

उनले प्रदर्शनकारीको संख्या सानो भए पनि त्यसले दिने सन्देश ठूलो हुने दावी गरे । आन्दोलनको स्वरूप परिवर्तन हुने र सहकारी बचतकर्ताहरू निक्षेप फिर्ता लगायतका विषमा मुद्दा मिल्ने दलहरूसँग छलफल गरेर अघि बढ्ने उपसभापति अर्यालले बताए । रास्वपामा कार्यवाहक सभापति तोकिएको छैन । रास्वपामा उपसभापति दुई जना छन् । पार्टी सभापतिले तोकेका वा ज्येष्ठ उपसभापतिमध्येबाट कार्यवाहक तोक्ने विधानमा व्यवस्था भए पनि लामिछानेले कार्यवाहक दिएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर