स्थानीय तह उपनिर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई एमालेको निर्देशन

सत्तारुढ नेकपा (एमाले) ले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन पार्टीका नेता/कार्यकर्तालाई निर्देशन दिएको छ ।

शनिवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले ४४ वटा स्थानीय तहको रिक्त पदमा हुने उपनिर्वाचनमा केन्द्रित हुन सिंगो पार्टी पंक्तिलाई केन्द्रित हुन आह्वान गरेको हो ।

बैठकले प्रदेश कमिटीले सिफारिस गरी पठाएका उम्मेदवारको नाम अनुमोदन पनि गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले सो उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई विजयी गराउनका लागि सम्पूर्ण सामथ्र्यका साथ परिचालन हुन सिंगो पार्टी पंक्तिलाई आह्वान गरिएको पनि बताए ।

उनले भने–‘यो बैठकले आगामी मंसिर १६ गते हुने ४४ वटा स्थानीय तहको उपनिर्वाचनको सन्दर्भमा नेकपा (एमाले)को तर्फबाट सिफारिस भई आएका, निर्णय भई आएका प्रदेश कमिटीले निर्णय गरेर पठाएका उम्मेदवारहरुको नाम अनुमोदन गर्ने काम गरेको छ । र सिंगो पार्टी पंक्तिलाई त्यो निर्वाचनमा नेकपा एमालेको विजयीका निम्ति सम्पूर्ण सामथ्र्यका साथ परिचालित हुन आह्वान पनि गरेको छ ।

बैठकले कोशी प्रदेशमा आन्तरिक मामिलामन्त्री लिलवल्लभ अधिकारीलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गर्ने कोशी प्रदेश कमिटीको निर्णयलाई पनि अनुमोदन गरेको छ ।

‘कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री लिलावल्लभ अधिकारीजीको विषयमा जुन गम्भिर प्रश्न उठेको छ । त्यो प्रश्नको कानून निरुपण नभएसम्मका लागि कोशी प्रदेश कमिटीले उहाँलाई पार्टीका सबै जिम्मेवारीहरु र पार्टी सदस्यताबाट समेत मुक्त गर्ने जुन निर्णय गरेको छ,’उनले भने‘त्यो निर्णयलाई अनुमोदन गर्दै उहाँलाई सबै खालको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ । र, उहाँको बारेमा लागेका सबै आरोपहरुको वस्तुनिष्ट, तथ्यपरक र गम्भिर छानविन राज्यका सम्बन्धित निकायहरुले गरुन् । र त्यो छानविनमा पार्टीको तर्फबाट पूर्णरुपमा सहयोग हुने विश्वास समेत पार्टीले व्यक्त गरेको छ ।’

एमाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण मुलुकको राष्ट्रिय हितमा अधिकतम रुपमा उपयोग हुने विश्वास समेत व्यक्त गरेको उपमहासचिव ज्ञवालीले बताए ।

‘सम्माननीय प्रधानमन्त्रीज्युको यही डिसेम्बरको पहिलो हप्ता हुने चीनको भ्रमणको बारेमा पनि केही छलफल ग¥यौं,’उनले भने,‘त्यो भ्रमणलाई अधिकतम राष्ट्रिय हितमा रुपान्तरित गर्नका निम्ति सरकारलाई सफलता प्राप्त होस् भन्ने पनि हामीले शुभेच्छा व्यक्त गरेका छौँ । ’

प्रधानमन्त्री ओलीले यही डिसेम्बर पहिलो साता चीन भ्रमण गर्दै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *